Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

पूर्वराजाका साथी रहेछन् पक्राउ परेका अजितनारायण सिंह थापा


बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अर्बपति बिनोद चौधरीका भाई अरुण चौधरीसँगै पक्राउ परेका अजितनारायण सिंह थापा पूर्व राजा ज्ञानेन्द्र शाहको मिल्ने साथी भएको खुलेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार रहँदा उनी र अजितनारायण सिंह थापाले दार्जिलिङको एउटै स्कुल पढेका थिए । पुख्यौंली रुपमै धनाढ्यको सूचीमा पर्ने अजितनारायण सिंह थापाको पढाई दार्जिलिङको सेन्ट जोसेफ क्याथोलिक स्कुलमा भएको थियो । जुन स्कुलमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहले पढेका हुन् । धनीमानीहरुले पढ्ने स्कुलका रुपमा चिनिएको सेन्ट जोसेफमा ज्ञानेन्द्र शाह र अजितनारायण सिंह थापा मिल्ने साथी मध्येमा पर्थे ।

उमेरका हिसाबले पूर्जराजा ज्ञानेन्द्र शाहभन्दा अजितनारायण सिंह थोरै जेठा भएपनि स्कुल पढ्दाताका उनीहरुको मिल्ती खुबै थियो । स्कुल सँगै पढेको सम्बन्धकै आधारमा अजितनारायण सिंहले दरबारसँगको सम्बन्ध बढाएका थिए । दरबारसँग बढेको सम्बन्धका कारण अजितनारायणको गाउँ धनकुटाको मुगामा अजितनारायणको परिवार र आफन्तको फुर्तीफार्ती सामान्य थिएन । अजितनाराणलाई नजिकबाट चिन्ने एक व्यक्तिले बताए अनुसार स्व.प्रधानमन्त्री सूर्यबहादुर थापा र अजितनारायणसिंह थापाबीच दरबारसँगको सम्बन्ध कसको राम्रो भन्ने विषयमा अघोषित प्रतिष्पर्धा नै हुन्थ्यो । तर, सम्बन्ध जतिसुकै राम्रो भएपनि सूर्य बहादुर थापा तत्कालिन राजा महेन्द्र, विरेन्द्र लगाएतको विश्वासपात्र बन्दै प्रधानमन्त्री नै भइसक्दा पनि अजितनारायण सिंह थापाले भने राजनीतिक लाभ उठाउन सकेका थिएनन् । यद्यपि दरबारको एउटा गुटमा अजितनारायण सिंह थापा पर्थे ।

सुर्यबहादुर थापा र अजितनारायण सिंह थापाको परिवारबीच धनकुटाको मुगा गाउँमा रहँदादेखि नै राम्रो सम्बन्ध थिएन । सूर्यबहादुर थापा र अजितनारायणसिंह थापा गाउँका तेह्रदिने दाजुभाई थिए । तर, दरबारको प्यारो को हुने भन्ने प्रतिष्पर्धाले यी दुबैलाई टाढा बनाएको थियो । सुर्यबादुर थापाले आफ्नो जीवनसँग सम्बन्धित पुस्तकमा यसको छनक दिएका छन् । आफूलाई दरबारले विश्वास गरेपनि त्यहाँभित्र पनि गुट चलाएको उनले उल्लेख गरेका छन् । पञ्चायतकालिन समयमा नै सुर्यबादुर थापालाई चुनाव हराउँन अजितनारायण सिह थापाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । दरबारसँग पहुँच भएका सुर्यबहादुर पटक पटक प्रधानमन्त्री भए दरबारसँगै पहुँच भएका अजितनारायणले सुरक्षित बाटो जागिर रोजे ।

जागिरकै सिलसिलामा अजितनारायण सिह बाँसबारी छाला जुत्ता कारखानाको प्रमुख भए । छाला जुत्ता कारखाना डुब्दै गयो । डुब्दै गएको सो कारखाना विस्तारै कौडीको भाउमा पुग्यो । हुँदाहुँदा सरकारी जग्गा नै व्यक्तिको नाममा नामसारी गरियो । अहिले चौधरी परिवारले उक्त जग्गा आफूहरुले कानुनी रुपमा नै लिएको दाबी गरिरहेका छन् भने बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन प्रमुख अजितनारायण सिंह थापाले आफूले पनि नराम्रो सोचेर त्यस्तो नगरेको दाबी गरेका छन् ।

जागिरे जीवन सकिएपछि अजितनारायण सिंहले नेपाली कांंग्रेसको राजनीतिमा जाँगर देखाएका थिए । यद्यपि न त उनका लािग राजनीति फाप्यो न त उतिबेलाको सरकारी जागिर नै । आफ्नै गाउँका दाजु सुर्यबहादुर थापा पटक पटक प्रधानमन्त्री हुँदा अजितनारायण सिंह नेपाली कांग्रेसको जिल्ला तहको नेता भन्दा माथि उठ्न सकेनन् । तथापि कांग्रेसको राजनीतिमा लागेर अरु कहिँ पुग्न नसकेपनि त्यो राजनीतिको एउटा सानो लाभ भने अजितनारायण सिंहलाई भएको छ । सुर्यबहादुर थापाका छोरा सुनिल थापा पनि नेपाली कांग्रेसको राजनीतिमा भएका कारण उतिबेला उनका बुबासँग जे जस्तो सम्बन्ध भएपनि सुर्यबहादुरका छोरा सुनिल थापा अजितनारायण पक्राउ पर्ने बित्तिकै उनलाई भेट्न पुगे । अहिले राष्ट्रपतिको राजनीतिक सल्लाहकार रहेका सुनिल थापाले अजितनारायण सिंहलाई भेटेपछि केही होला कि भन्ने आशा स्वभाविक रुपमा अजितनारायणमा पलाएको छ ।

अहिले जीवनको उत्तरार्धमा छन् अजितनारायण सिंह थापा । ८२ वर्षको यो उमेरमा हिरासतको बसाई । पक्कै कठीन छ अजितनारायणका लागि । तर, विगतको कर्मले उनलाई उमेर, रोग या अरु केही भनेन । त्यो कर्म सही, गलत या के भन्ने कुरा भइरहेका छानबिनबाट भोलिका दिनमा खुल्दै जाला । तर, यतिबेलाका लागि भने विगतका ती दिनहरु ज्तिबेला उनी पूर्वराजासँग सँगै पढ्थे, दरबारसँग राम्रो उठबस थियो, सान औकात र इज्जतको कुनै कमी थिएन अब यीनै कुरा सम्झेर दिन कटाउनुको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार