Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

मेयर बालेनको आक्रोश : केपी ओलीलाई पत्र काट्नू


धरहरा निर्माणधिन अवस्थामा रहेका कारण त्यहाँको भूमिगत पार्किङ प्रयोग नगर्नका लागि काठमाडौं महानगरपालिकाको नाममा शहरी विकास मन्त्रालयले पत्र लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित भएका छन् । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले पत्र आफूलाई नभई केपी ओलीलाई लेख्न शहरी विकास मन्त्रालयलाई सुझाएका छन् । धरहरालाई सेतो टावरको संज्ञा दिँदै आएका मेयर बालेनले निर्माण नै सम्पन्न नभई केपी ओलीले उतिबेला किन उदघाटन गरेको त भनेर प्रश्न गरेका छन् । सार्वजनिक स्थानमा आफ्नो नाम लेखाउँने लोभले निर्माण सम्पन्न नहुँदै उदघाटन गरिनुलाई मेयर बालेनले भ्रष्टाचारको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसको पूर्ण पाठ यस्तो छ :
२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर  उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे  ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

यसअघि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा गरिने पार्किङ हटाएर धरहराको भूमिगत पार्किङ सर्वसाधारणलाई निःशुल्क रुपमा प्रयोग गर्न दिएको थियो । । न्युरोडबाट पार्किङ हटाएपछि व्यवसायीहरु मेयर बालेनको विरुद्धमा उत्रिएका थिए भने मेयर बालेनले विकल्पका रुपमा धरहराको पार्किङ प्रस्तुत गरेका थिए । तर, धरहरा निर्माणाधिन अवस्थामा रहेको भन्दै शहरी विकास मन्त्रालयले पत्र लेखेपछि बालेन शाह बिच्किएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार