Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

संविधानसभा सदस्य तामाङ सहकारी ठगीमा दोषी ठहर, १ अर्ब भन्दा धेरै जरिवाना


सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका संविधानसभा सदस्य एवं सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड भन्दा धेरै जरिवाना भएको छ । गत माघ ७ गते कसुर ठहर भई आइतबार विशेष अदालतले १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना निर्धारण गर्दै ३ वर्ष कैदको फैसला सुनाएको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अर्का प्रतिवादी सिभिल सहकारीका पछिल्ला सञ्चालक रहेका केशवलाल श्रेष्ठ पनि दोषी ठहरिएका छन् । उनलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला भएको छ ।

त्यसै गरी अदालतले प्रतिवादीहरु इच्छाराज तामाङ र श्रीमती सिर्जना शाक्यले छोरीहरुको नाममा समेत सम्पत्ति लुकाएर राखेको पुष्टि भएको भन्दै छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।

सिभिल सहकारीका निक्षेपकर्ताहरु पीडित रहेका कारण जफत गरिने सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरुलाई हुने समेत फैसलामा उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।

सरकारी वकिलको बहसपछि इच्छाराज तामाङको तर्फबाट बहसका लागि आएका कुन्साङ लामाले बहसका क्रममा अहिलेको कानुन अनुसार नभएर पहिले कै कानुन अनुसार सजाय हुनुपर्ने र त्यतिबेलाको कानुनले १ देखि ४ वर्षको कैद सजाय तोकेकाले सोही कानुनी व्यवस्था अनुसार सजाय हुन माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार