मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागी हुँदा दाजु बहिनीको जलेर मृत्यु भएको छ। गएराति १ बजेको समयमा गाडेखोला गाउँका तीन वटा घरमा आगलागी हुदाँ दाजु बहिनीको आगोमा जलेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आगलागीमा परी स्थानीय लालु सञ्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ती दाजुबहिनी घरभित्रै आधा शरीर जलेको अवस्थामा मृत फेला परेका थिए । रातको समयमा एक्कासी आगलागी भएको हुनाले उनीहरु भाग्न नसकेको प्रहरीको भनाइ छ ।
स्थानीय लालु सञ्याल, नरदीप सञ्याल र दीपराज सञ्यालको घर पूर्ण रूपमा जलेका छन्। उनीहरूका घर एकआपसमा जोडिएका थिए । सोमबार बिहान सवा ६ बजेतिर स्थानीयले सञ्यालका दुई बालबालिका फेला नपरेको र आगो लागेको प्रहरीमा जानकारी गरेपछि प्रहरी बिहान १० बजेतिर घटनास्थलमा पुगेका थिए ।
प्रहरीले घटनास्थलबाट दुई ओटा जलेको शरीर निकालेको प्रहरीले बताए । तीन ओटा घर पुर्णरुपमा जल्नुका साथै गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको थियो। तीन वटै घरमा रहेको धनसम्पत्ति, पशु वस्तु, खाद्यान्न जलेर पूर्ण रूपमा क्षति भएको छ।
घटनापछि चिकित्सकलाई घटनास्थलमैै बोलाइएको थियो । चिकित्सकले जलेको शरीर पोष्मार्टम गरेपछि दाहासंस्कारका लागि लास आफन्तको जिम्मा लगाइएको प्रहरीले बताए ।
घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।