राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा उद्धव पौडेलविरुद्ध उजुरी परेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनी विरुद्ध उजुरी परेको हो । ज्वाइँ रवि लामिछाने रास्वपा सभापति रहँदा उनका ससुरा उद्धव पौडेल भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा उपाध्यक्ष छन् । केहीदिनअघि एउटा भिडियो अन्तर्वार्तामा पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहको मानमर्दन हुनेगरी बोलेको भन्दै राप्रपाका एक नेताले उनी बिरुद्ध राप्रपाको अनुशासन समितिमा उजुरी दिएका हुन् ।
राप्रपाका महाधिवेशन प्रतिनिधि अजयकुमार रिमालले पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएको राप्रपा स्रोतले बताएको छ । राप्रपाको अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर रिमालले बुझाएको उजुरीमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ । पार्टी विधानको प्रस्तावनामा नै आघात पुग्ने तथा पूर्वराजा ज्ञानेन्द्र शाहको मानमर्दन हुनेगरी उनले बोलेको भन्दै पौडेलमाथि कारबाही गर्न रिमालले माग गरेका छन् । राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा बोकेको पार्टी राप्रपाका जिम्मेवार नेताले नै राजाको मानमर्दन हुनेगरी बोल्नु अनुशासनहिन काम भएको रिमालको दाबी छ । उनले पार्टीका अनुशासन समितिका प्रमुखलाई सम्बोधन गर्दै बुझाएको उजुरीमा भनिएको छ ः ‘प्रतिकुल अभिव्यक्ति दिने छुट कुनै पनि तहमा रहेका नेता तथा कार्यकर्ताहरूलाई हुँदैन । यो पार्टी अनुशासन विपरीतको काम हो । यस्तो अनुशासनहीन अभिव्यक्ति दिने, गैरजिम्मेवारपूर्ण कार्य गर्ने, भ्रामक प्रचार गर्ने, पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई अनुशासन समितिबाट अनुशासनको हदैसम्म कारबाही गर्न तथा निजलाई भविष्यमा पार्टीको कुनै पनि तहको जिम्मेवारी समेत नदिने गरी कारबाही गर्न माग गर्दै यो निवेदन पेस गरेको छु’,
पार्टीका उपाध्यक्षलाई नै हदैसम्मको कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी परेपछि यो विषयले यतिबेला राप्रपामा खैलाबैला मच्चाएको छ । पार्टी आन्तरिक विवादमा चुर्लुम्मै डुबेका बेला पार्टीका उपाध्यक्षलाई नै कारबाही गर्नुपर्ने माग सहितको उजुरी परेपछि यसले केही नेता तनावमा परेका छन् ।
केहीदिनअघि मात्रै राप्रपा उपाध्यक्ष पौडेलले राजा सबैको सर्वस्वीकार्य हुनुपर्नेमा आफूले त्यस्तो अनुभव नगरेको आशयको अन्तर्वार्ता दिएका थिए । राजावादी विभिन्न संस्थालाई मिलाउने दायित्व पूर्वराजाको भएको भन्दै उनले राजावादी विभिन्न १७ वटा संस्थालाई समेत पूर्वराजा ज्ञानेन्द्र शाहले मिलाउन नसकेको बताएका थिए । राजा सबैको साझा हुनुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाह हिन्दु मन्दिरहरूमा मात्रै गएको तर मुस्लिम, बुद्धिस्ट लगायतलाई बेवास्ता गरेको आशय उनले अन्तर्वार्ताका क्रममा व्यक्त गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधीप्रति असन्तुष्टी व्यक्त गर्दै उनले राजा सबैको साझा हुनुपर्नेमा त्यस्तो हुन नसकेका कारण अर्कै मान्छेलाई उत्तराधिकारी बनाउनुपर्ने दिन आउन सक्ने पनि बताएका थिए ।
राप्रपा उपाध्यक्ष पौडेलका यीनै अभिव्यक्तिका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको मानमर्दन भएको भन्दै राप्रपाका महाधिवेशन प्रतिनिधि अजयकुमार रिमालले पार्टीको अनुशासन समितिमा उजुरी दिएको बताएका छन् । तर, उजुरीउपर के भइरहेको छ भन्ने कुरा भने राप्रपाले केही जनाएको छैन । सकभर यो विषय बाहिर नजाओस् भन्ने विषयमा राप्रपा नेतृत्व सतर्क रहेको राप्रपाका एक नेताले जानकारी दिए ।