राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति तथा समुहमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ । कास्कीको सुर्यदर्शन सहकारीका पीडितहरुले लामिछाने सहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन विरुद्ध पनि उजुरी जाहेर गरेका छन् । सुर्यदर्शन सहकारीमा आफूहरुले जम्मा गरेको करोडौं रुपैंयाँ हिनामिना गरेको भन्दै उनीहरुले नीजहरुलाई छानबिनको दायरामा ल्याएर आफ्नो रकम फिर्ता गराइदिन आग्रह गरेका छन् । यसअघि पटक पटक उजुरी लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा जाँदा पनि आफूहरुको उजुरी प्रहरीले लिन नमानेको भन्दै पीडितहरुले सञ्चार माध्यमसँग गुनासो पोखेका थिए । तीनचोटीसम्म जाहेरी लिएर जाँदा पनि प्रहरीले दर्ता गर्न नमानेको उनीहरुको भनाई थियो ।
लामिछाने पूर्व गृहमन्त्री भएका कारण प्रहरीले आफूहरुको उजुरी लिन नमानेको आरोप पीडितहरुले लगाएका थिए । लामिछानेको दबाबमा प्रहरी डराएको उनीहरुको भनाई थियो । लामिछाने ग्यालेक्सी टीभीको शेयरहोल्डर हुँदा सहकारीको पैसा अबैध रुपमा उनले टेलिभिजनमा लगानी गरेको आरोप लाग्दै आएको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पनि सुर्यदर्शन सहकारीको यो प्रकरणमा तानिएपछि विषय अझ पेचिलो बनेको छ । माओवादी नेतृत्वको सरकार रहेको र माओवादीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेको यो समयमा माओवादीकै दिपेश पुन पनि जोडिएपछि यो उजुरी उपर सत्यतथ्य छानबिन हुनेमा केहीले आशंका व्यक्त गरेका छन् । रवि लामिछानेलाई जोगाउँन भन्दा पनि दिपेश पुनलाई जोगाउँनका लागि अब यो प्रकरण नै ढिसमिस पारिन सक्ने उनीहरुको बुझाई छ ।
सुर्यदर्शन सहकारीका पीडितहरु ८० जना व्यक्ति तथा संस्था विरूद्ध जाहेरी दिन यसअघि पनि जिल्ला प्रशासन कार्यालय कास्की पुगेका थिए । गएको माघ ९ गते जिल्ला प्रशासन कास्कीमा पुग्दा आफूहरुको कुराको कुनै सुनुवाई नभएको पीडितहरुको भनाई थियो । प्रहरीले जाहेरी लिन नमानेपछि नमानेपछि आफुहरु रित्तै फर्किनुपरेको भन्दै सूर्यदर्शन सहकारीका पीडितहरुले मिडिया गुहारेका थिए ।
सहकारी ठगीमा रवि लामिछान सहित विभिन्न व्यक्तिहरुको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ थियो । तर, लामिछानेले भने आफू सहकारीमा आवद्ध नभएकाले आफ्नो संलग्नता इन्कार गर्दै आएका छन् । उनले बचतकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै बचत कर्ताको रकम सरकारले नै फिर्ता गर्नुपर्ने समेत बताएका छन् ।
यता रवि लामिछाने सहित विभिन्न १८ जना व्यक्ति र संस्थामाथि जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको खबर सार्वजनिक भएपछि रवि लामिछानेका समर्थकहरुले भने विरोध गरेका छन् । रवि लामिछानेलाई फसाउन अनेक प्रकारका षडयन्त्र भइरहेको बताउँदै उनीहरुले षडन्त्रकारीहरुका सपना चकनाचुर हुने दाबी गरेका छन् । सहकारी पीडितहरुको रकम फिर्ता हुनुपर्नेमा दुईमत नभएपनि रवि लामिछानेलाई बिना कारण फसाइए आफूहरुलाई मान्य नहुने उनीहरुको भनाई छ ।