Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

भाग्यमानी अरुण चौधरी : रिहा हुँदा तिर्नैपरेन धरौटी


बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अर्बपति बिनोद चौधरीका भाई अरुण चौधरी त्यस्ता भाग्यमानी व्यवसायी भए जो पक्राउ परेर न त प्रहरी खोरमा बस्न प¥यो । न त रिहा हुँदा उनले धरौटी रकम नै बुझाउन प¥यो । एक साताअघि पक्राउ परेर बुधबार रिहा भएका अरुण चौधरी मात्रै हाजिरी जमानीमा छुटे । जबकि यसअघि यी र यस्तै प्रकरणमा पक्राउ परेका धेरै व्यक्तिहरुले धरौटी बुझाउनपरेको उदाहरण थियो । उनलाई २५ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले बाहिरै राखेर अनुसन्धान गर्न सकिने आशयको आदेश यसअघि दिएको थियो । सोही आदेशका आधारमा चौधरी बुधबार रिहा भएका हुन् । हाजिरी जमानीमा चौधरी रिहा हुनुलाई केहीले चौधरीको भाग्य भनेका छन् भने केहीले यसलाई पुर्पुराको लेखाई मात्रै भन्न नहुने बताएका छन् । चौधरी धरौटीमै छुट्ने भएका थिए भने पनि उनका लागि धरौटी रकम बोझिलो हुँदैनथ्यो । पैसाको समस्या भएकालाई हो धरौटीको भारीले थिच्ने भनेको । जतिसुकै गह्रौं भारी पनि उठाउन सक्ने क्षमता भएपछि पैसाकै कारण चौधरी थुनिने अवस्था हुने थिएन । धरौटी रकम नै तिर्न नपरेपछि त्यो पनि टण्टै साफ भयो ।

पक्राउपछि अरुण चौधरीलाई केही तनाव पक्कै भयो होलान् । तर, अन्य प्रकरणका तुलनामा चौधरीको पक्राउ र रिहाई ख्यालख्याल जस्तै देखियो । गृहमन्त्रीले ठूलै सफलता प्राप्त गरे जसरी यो प्रकरणलाई प्रचारमा ल्याए । तर, चौधरीको पक्राउदेखि लिएर रिहाइसम्मका घटनाक्रमलाई हेर्ने हो भने सरकारको अत्यन्तै फितलो तयारी भन्दा यसमा अरु केही देखिएन । पक्राउ परेका चौधरीलाई पक्राउ परेकै दिनबाट नयाँ ज्वाईँलाई दिइने मेजमानी भन्दा कम व्यवहार गरेन प्रहरीले । प्रहरी चौकीको हिरासतमा राख्दा रुघाखोकीले सताउला, फ्याट्टै चिसो लाग्ला भनेजसरी उनको रोजाई अनुसारका भिआइपी स्थानहरुमा राखियो । करिब एक साता सुविधासम्पन्न हस्पिटलका एसीवाला क्याबिन उनका लागि हिरासतका रुपमा परिणत भए । ख्याक्क खोकी पनि नलागोस् भन्नेमा विशेष सतर्कता अपनाइयो । प्रहरीले एक साताअघि उनलाई आफ्नोमा ल्याउँदाको दृश्य पनि बडो रोचक थियो । उनलाई लिन लाजिम्पाटस्थित निवासमा पुगेको प्रहरी टोलीले उनलाई नुहाउन मात्रै समय दिएको थिएन । पूजापाठ गर्ने समय पनि दिएको थियो । प्रहरीको गाडीमा आउन इन्कार गरेपछि उनले आफ्नै गाडी प्रयोग गर्न पाएका थिए ।

अरुण चौधरीलाई त्यतिकै भाग्यमानी आरोपित भनिएको होइन । उनी पक्राउ परे लगत्तै नीजि क्षेत्रका उद्योगी व्यवसायीले प्रेसमिट गरेर उनलाई साथ दिएका थिए । उनको रिहाईका लागि उनका दाजु विनोद चौधरी र परिवारका मान्छेहरु त लाग्ने नै भए कांग्रेस सभापति शेरबहादुर देउवा नै उनका लागि दाहिना भएका थिए । पक्राउ लगत्तै उनका दाजु बिनोद चौधरी ले प्रधानमन्त्रीलाई भेटेर रिहाईका लागि कान फुक्ने अवसर पाएका थिए । बाहिर जति नै ठूला ठूला र चर्काचार्का कुरा सुनिएपनि उनको पक्षमा माहोल भित्रभित्रै गज्जबले बनाइँदै थियो । सरकारलाई केही काम भइरहेको छ है भनेर जनतालाई देखाउँनका लागि ठूलै माछा समातेको अभिनय गर्नु थियो । त्यो अभिनय पूरा भयो । र, अभिनयसँगै एउटा फिल्म सकियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गावाला फिल्म ।


प्रतिक्रिया दिनुहोस !
विचार