Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रविको प्रश्न : सहकारी ठगहरुलाई किन कारबाही नगरेको ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगहरुलाई कारबाही गर्न सरकारलाई के ले रोकेको छ भन्दै प्रश्न गरेका छन् । संसदको बुधबारको बैठकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी ठगहरुलाई कारबाही गर्न सरकारलाई आग्रह समेत गरे । सहकारीको रकम हिनामिना गरेको आरोपमा आफैं बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको पर्सीपल्ट लामिछानेले संसदको रोष्ट्रममै उभिएर सहकारीका विषयमा आवाज उठाएका हुन् ।

उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने छ सबै थाहा रहेको भन्दै सुधार गर्न चाहिँ कसले रोकेको हो भनेर प्रश्न गरे । संसदमा रोष्ट्रममा उभिएर बोल्न शुरु गर्दा सबैभन्दा पहिले संघीय संसदका नयाँ महासचिवलाई बधाई दिएका लामिछानेले त्यस लगत्तै भने– ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न यत्ति नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।

लमिछानेले बोल्नुभन्दा केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले किर्ते नागरिकता र सहकारी ठगीको विषय रोष्ट्रमबाटै उठाएपछि लामिछाने आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले भने– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? लामो समय सरकारमै भएजस्तो लाग्छ । राजनीतिमा सरकारमा वर्षौं ँ हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’

लमिछानेले कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीप्रति लक्षित गर्दै बयानका लागि अधिकारप्राप्त निकायले बोलाउँदा गाडी नभएर नगएको भए आफूहरुले गाडी मिलाइदिने बताए । कांग्रेस सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अख्तियारले एउटा सन्दर्भमा बयानका लागि बोलाउँदा नगएको भन्दै उनका विषयमा समाचार आइरहेका बेला रास्वपा सभापति लामिछानेले कार्कीप्रति संसदमै कटाक्ष गरेका हुन् । चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा लैजान अगुवाइ गरेको भन्दै उनले सत्तारुढ दल कांंग्रेस र माओवादीको आलोचना पनि गरे । पुराना दलहरूले सदनमा सुशासन र छेडखानीका कुरा गरेको नसुहाएको भन्दै उनले सुहाउने काम गर्न आग्रह गरे । वर्षौंदेखि संसदमा आरोप र घोचपेच चल्ने गरेको भन्दै उनले संसदलाई घोचपेचको थलो बनाउनुभन्दा अलि फरक ढङ्गले जान आफूले प्रस्ताव गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार