बलात्कार मुद्धामा दोषी ठहरीएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल भइरहेकाबेला उनको पक्षमा नाराबाजी गर्ने पाँचजनालाई त्रिवि मैदान कीर्तिपुरबाट पक्राउ गरेको हो । कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सन्दिप लामिछानेलाई न्याय दे लेखिएको ब्यानर देखाउनुका साथै नारा लगाएका थिए ।
नाराबाजीसँगै लफडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले केही समय दर्शकलाई रोकेका थिए । केहीबेर खेल समेत रोकिएको थियो । नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजदेखि त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीच बिहान सवा ९ बजेदेखि सुरू भएको छ ।
जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने केही समय अगाडी मात्रै उनले कति समय कैद व्यतित गर्नुपर्ने भन्ने विषयमा अदालतले आदेश सुनाएको थियो । ५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछानेले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर एक युवतीलाई भेटेका थिए ।
त्यसपछि ती युवतीले आफुमाथि बलात्कार भएको २१ भदौ २०७९ मा प्रहरीमा उजुरी दिएकी थिइन् । सन्दिप लामिछानेको मुद्धामा अदालतले फैसला सुनाएपछि उनको पक्षमा राजनीतिक दलका ठूला नेताहरुले खुलेरै समर्थन गरेका थिए । उनका फ्यान तथा समर्थकहरुले निरन्तर उनको पक्षमा आवाज उठाउँदै आइरहेका छन् ।