पशुमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ रोग एकै पटक पाँच जिल्लामा फैलिएको पुष्टि भएको छ । पशुमा लाग्ने यो रोग पछिल्लो समय एकैपटक पाँच जिल्लामा पुष्टि भएको हो ।
काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की लगायतका क्षेत्रमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग भयावहरुपमा फैलिइरहेको पशु स्वास्थ्य सेवा विभाग स्रोतले जनाएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो ।
यो रोग नेपालमा पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म २८ जिल्लामा संक्रमण देखा परिसकेको छ । यस अघि जैविक सुरक्षाको विधि अवलम्बन, बिभिन्न कार्यक्रम, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सचेतना कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा लिए पनि रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ र ललितपुर जिल्लामा यो रोग पुष्टि भएको पशु विभागले जनाएको छ । यस रोगबाट बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरहरु धेरै मर्न थालेको छ ।
अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण हुँदा पशुमा १०४ देखि १०७ डिग्री फरेनहाइटको जरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लड्खडाउने, तुहिने जस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन् । यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरूको लसपस वा ओसार–पसारबाट फैलने विभागले जनाएको छ ।
अफ्रिकन स्वाइन फिभर रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभएकोले विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिस गरेको छ ।