Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

बालेनको निर्णयको बिरोधमा लुम्बिनीदेखि सिंहदरबारसम्मको पैदल यात्रामा ई.


फुटपाथ व्यवसायीका पक्षमा काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि निरन्तर १९९ घन्टा उभिएर आन्दोलन गरेका अभियन्ता ई. ले आजबाट लुम्बिनी सिंहदरबार पैदल यात्रा शुरु गरेका छन् । फुटपाथ व्यवसायीका पक्षमा सरकारलाई दबाब दिने उद्देश्यले उनले लुम्बिनीदेखि सिंहदरबार सम्मको पैदल यात्रा शुरु गरेका हुन् । फुटपाथ व्यवसायीहरुलाई बिना बिकल्प काठमाडौं महानगरपालिकाबाट विस्थापित गर्दा उनीहरुको बिजोग भएको भन्दै ई.ले फेरि फरक प्रकारको आन्दोलन शुरु गरेका हुन् ।
उनले लुम्बिनीदेखि सिंहदरबारसम्मको पैदल यात्रा सकेपछि सरकारलाई तीन बुँदे ज्ञापनपत्र बुझाउनेछन् । गरिब र असहायहरुको बिचल्ली पार्नेगरी काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई हटाउँदा पनि संघिय सरकारले कुनै वास्ता नगरेको भन्दै उनले पैदल यात्रा सकिएपछि सरकारलाई ज्ञापनपत्र बुझाउनेछन् । उनको पैदलयात्रा अबको नौ दिनमा सकिने जनाइएको छ ।
यसअघि फुटपाथ व्यवसायीका पक्षमा उनले निरन्तर १९९ घण्टा उभिएर प्रदर्शन गरेपछि काठमाडौं महानगरपालिका र अभियन्ता ई. का समर्थकबीच सहमति भएको थियो । मेयर बालेन शाहका प्रतिनिधि र ई.का प्रतिनिधिबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने भनिएको थियो । साथै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने सहमति पनि भएको थियो । तर, सहमति अनुसार काम नभएको भन्दै उनले फेरि आन्दोलन शुरु गरेका हुन् ।

तर, सहमति हुनुभन्दा अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा ७ बुँदे स्टाटस लेख्दै ई. ले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको जिकिर गरेका थिए । सो जिकिरका बीच महानगरपालिका र अभियन्ता ई. बीच सहमति भएपनि सहमति पालना नभएको भन्दै ई. संघीय सरकारलाई नै दबाब दिनेगरी पैदल यात्रामा निस्किएका हुन् । उतिबेला काठमाडौं महानगरपालिकामा लगातार १९९ घण्टा उभिएका ई. त्यसको केही समयपछि ललितपुर महानगरपालिकामा पनि फुटपाथ व्यवसायीका पक्षमा उभिएर आन्दोलन गर्न गएका थिए । तर, त्यहाँ भने उनले स्थानीयको साथ पाउँन सकेनन् । स्थानीयहरुबाट नै अभियन्ता ई. लेखेटिएको समाचार त्यतिबेला सार्वजनिक भएको थियो । ललितपुरमा स्थानीयको साथ नपाएपछि त्यसयता ई. चुपचाप थिए । तर, ललितपुर घटनाको केही समयपछि ई.लुम्बिनी पुगेर त्यहाँदेखि काठमाडौंसम्मको पैदल यात्रामा लागेका छन् । अब उनको पैदल यात्राले संघीय सरकारलाई कतिको दबाब पुग्छ त्यो भने हेर्न बाँकी छ । तर, हठी स्वभावका ई. ले स्थानीय होस् या केन्द्र कुनैपनि सरकारलाई त्यत्तिकै भने नछोड्ने देखिएको छ । ललितपुरमा स्थानीयको साथ नपाएपछि बल्ल अभियन्ता ई. चुप लागे भनेर केहीले उनीप्रति खुच्चिङ गरिरहेका बेला फेरि धेरैलाई चकित पार्नेगरी उनी ९ दिन लामो पैदल यात्रामा निस्किनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । गएको स्थानीय तहको चुनावमा बालेनलाई जिताउँन भएभरको शक्ति लगाएर उनका पछि लागेका ई. अहिले बालेनकै कार्यशैलीप्रति असहमति राख्दै बालेनलाई घुँडा टेकाउन लागिपर्नुले धेरैलाई भने अचम्मित तुल्याएको छ । आफ्नो निर्णयबाट न बालेन टसकोमस हुन्छन् न त ई. नै । फुटपाथ खाली गराउँने निर्णयमा बालेनको पक्षमा जुन प्रकारको समर्थनको लहर देखिएको छ त्यसको तुलनामा ई.को पक्षमा भने समर्थन अत्यन्तै न्युन देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार