लजमा मृत भेटिएकी प्रमिला दमाईको आफ्नै प्रेमीले हत्या गरेको पुष्टि भएको छ । गलत विवरण राखेर कोठा बुक गरेका प्रेमीले नै प्रमीलाको हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा मृत भेटिएकी करिब २८–२९ वर्षीया प्रमिला दमाईको आफ्नै प्रेमीले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएका छन् ।
शनिबार साँझ प्रेमीले लिएको गौशलाको सिराहा धनुषा एण्ड लजमा प्रमीला मृत फेला परेकी थिइन् । होटल स्रोतका अनुसार होटलका कर्मचारीहरुले बोलाउदा र ढोकामा ढकढक गर्दासमेत प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौँ महानगरपालिका–९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा प्रमीला मृत भेटिएकी थिइन् । उनलाई ‘प्रेमी’ले नै हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रमीलाको हत्या नै भएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार ‘हत्या गरेर आरोपी बाहिरबाट चाँबी लगाएर होटलबाट भागेको थाहा भएको छ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपी दोलखाका हुन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको छ । प्रमीलाकोे घर रामेछापको लिखु तामाकोशी हो । उनी आफ्नो पतिसँगै केही समय अगाडी देखि गौशलामा बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार प्रमीला आफन्तकोमा जान्छु भनि कोठाबाट निस्केका थिए ।
माघ २६ गते शुक्रबार उनी प्रेमीसँगै सो लजमा पुगेकी थिइन् । २७ गते शनिबार साँझ उनलाई मृत भेटिएको थियो । होटल स्रोतका अनुसार उनीहरुले गलत विवरण टिपाएर कोठा बुक गरेका थिए । किन र के कारण प्रमीलाको हत्या गरेका हुन् भन्नेबारे खुलिनसकेको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।