
सत्ता गठबन्धनभित्र गडबडी शुरु भएको सुइँको पाए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मंगलबार साँझ बालुवाटार पुगे । अनेक प्रयत्न गर्दा पनि नभत्किएको गठबन्धन आफैं भत्कन लागेको खबरले ओली खुसी नहुने कुरै थिएन । पार्टी केन्द्रीय समितिको बैठकपछि पार्टी कार्यालय च्यासलबाट ओली मंगलबार अबेर सिधै बालुवाटार हानिएका हुन् । केहीदिनअघि मात्रै प्रचण्डले कांग्रेससँगको गठबन्धन आफूहरुका लागि लाभदायक नभएको अभिव्यक्ति सार्वजनिक रुपमा दिएपछि ओली भित्रभित्रै खुसी भएका थिए । तर, त्यो खुसी व्यक्त गरिहाल्ने अवस्था थिएन । जब कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको मुटुमा चस्का हान्नेगरी कांग्रेस महासमिति बैठकमा एउटा प्रस्ताव लगे त्यसपछि भने ओली अब प्रचण्डसँग हात लम्काउँदा फरक पर्दैन भन्ने निष्कर्षमा पुगे । त्यही निश्कर्षको उपज हो प्रचण्ड र ओलीबीच मंगलबार साँझ भएको भेटवार्ता ।
कांग्रेस महामन्त्री गगन थापाले अबदेखि चुनावी गठबन्धन नगर्ने संकल्प कांग्रेसले लिनुपर्ने भन्दै महासमिति बैठकमा लगेको प्रस्तावले प्रचण्ड झस्किएका छन् भने यही प्रस्तावबाट ओली हौसिएका छन् । प्रचण्डलाई कांग्रेसी गठबन्धनबाट फुत्काउने मौका नै यही हो भन्ने ठम्याई छ ओलीको । प्रचण्ड झस्किएका बेलामा उनलाई उचालेर आफूतिर तान्न सकियो भने एमालेका लागि केन्द्र र प्रदेश सबैतिर रित्तो भएको सत्ताको खल्ती फेरि भरिने बुझाई छ ओलीको । त्यसैले उनी प्रचण्डको कान फुक्ने एकसुत्रिय उद्देश्य सहित मंगलबार साँझ बालुवाटार पुगे । ओलीले कानमा के के फुके र प्रचण्डले के के सुने त्यो भोलिका दिनमा खुल्दै जाला । तर, मंगलबार साँझबाट ओली र प्रचण्डबीच पुनः पिरती शुरु भयो भन्दा फरक भने पक्कै पर्दैन ।
फागुनको पहिलो साताबाट शुरु भएको ओली प्रचण्डको पिरती लगनगाँठोमा परिणत हुन कति समय लाग्छ त्यो अहिल्यै यसै भन्न सकिन्नँ । तर, ढिलोचाँडो कांग्रेससँग डिभोर्स भएर प्रचण्डको घरजम एमालेसँग हुनेमा भने दुईमत छैन । कांग्रेससँग ठाक्कठुक्क शुरु भएको कुरा प्रचण्डले माओवादीको विधान सम्मेलनमा खुलमखुला भनेकै हुन् । प्रचण्डले कांग्रेससँगको गठबन्धन माओवादीका लागि लाभदायक भएन भन्नु एमालेलाई माया पिरतीका लागि दिइएको निम्तो थियो । तर, त्यो निम्तो एमालेले सहजै स्विकारेन । त्यहीभएर मनमनै खुसी भएपनि एमाले अध्यक्ष ओली प्रचण्डले आँखा सन्काउँने बित्तिकै पछि लागेनन् । माओवादीसँग लिभिङ टुगेदरमा रहेको कांग्रेसको मनपेट पनि बुझ्नु थियो ओलीलाई । त्यहीभएर कांग्रेसको महासमिति बैठकसम्म कुरे । महासमिति बैठकमा गगनले जे गरिदिए हुन्थ्यो भन्ने उनको चाहना थियो त्यही भएपछि भने उनी ढुक्कले प्रचण्ड भेट्न बालुवाटार पुगे ।
मंगलबार बालुवाटारमा प्रचण्ड र ओलीबीच सत्ता सहयात्राबारे कुरै नभएको दाबी एमालेजनले गरेका छन् । माओवादी नेताहरुको दाबी पनि उस्तै छ । तर, ओपन सेक्रेट के हो भने प्रचण्ड र ओलीको माया पिरती शुरु भइसकेको छ । उता कांग्रेससँग डिभोर्स नभईकन यता इन्गेजमेन्ट भइहाल्छ भन्ने होइन । तर, फेरि नयाँ जोडी जम्ने कुरा भने लगभग पक्कापक्की हो । मिति चाहिँ यही फागुनमा हो, चैतमा हो या वैशाखमा ? त्यो भने भोलिका दिनमा थाहा होला ।