आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । कलाकार
पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाका आधारमा उनलाई पक्राउ गरिएको हो । केही दिनअघि शर्मिला वाइबाले पवनकी पत्नी सुम्निमा खालिङ र उनकी बहिनी बसेको घरमा पुगेर पवनमाथि हातपात गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बुझिएको छ । शर्मिला वाइबाले आफूलाई पछिल्लो दिनमा सञ्चारकर्मीका रुपमा समेत प्रस्तुत गर्ने गरेकी थिइन् ।
विभिन्न पारिवारिक कलहमा प्रवेश गरेर त्यसमा भिडियो बनाउँने काम समेत उनले गरेकी थिइन् । कलाकार पवन खतिवडा म्याकुरी र उनकी पत्नी सुम्निमाको केसमा उनले पत्रकार सम्मेलन समेत गरेकी थिइन् ।