अघिल्लो वर्ष एमालेसँग डिभोर्स गरेर कांग्रेससँग लगनगाँठो कसेको माओवादी केन्द्रले फेरि जोडा फेर्ने तयारी गरेको छ । गत साल एमालेले पहिराइदिएको माला लगाएर प्रधानमन्त्रीको कुर्सीमा बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै एमालेको माला मिल्काएर कांग्रेससँग अँगालो हालेका थिए । पुस १० मा एमालेसँग कसेको लगनगाँठो फागुनमा पुग्दा खुस्किएको थियो । अस्थिर स्वभावका प्रचण्डले एमालेसँग लगनगाँठो कसेर गल्ती गरिएछ भन्दै कांग्रेससँग हात लम्काएका थिए । कांग्रेससँग हात लम्काउँदै गर्दा प्रचण्डको भनाई थियो ः अब हामी पाँच वर्षसम्म ढुक्कले रहन्छौं । त्यसपछि पनि हामी सँगै हुन्छौं । तर, कांग्रेससँग पछिल्लो सहकार्य शुरु गर्दा प्रचण्डले खाएको कसम पूरा हुने सम्भावन क्षिण बन्दै गएको छ । प्रचण्ड यतिबेला एमालेसँग फेरि दोस्ती बढाउन थालेका छन् । कांग्रेससँगको सहयात्रा लाभदायी नभएको भन्दै प्रचण्ड एमालेसँग फेरि लगनगाँठो कस्न पाए मजा हुन्थ्यो भन्ने निष्कर्षमा लगभग लगभग पुगेका छन् ।
कांग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने मौखिक सहमति गरेका प्रचण्डले अहिले बोली फेरेका छन् । सिटौलाका सन्दर्भमा एक महिनाअघि आफूले बोल्दाको परिस्थिती र अहिलेको परिस्थिती बेग्लै भएको भन्दै उनले बोली फेरेका हुन् । छिनछिनमै बोली फेर्न खप्पिस प्रचण्डले एक महिनापछि बोली फेर्नु त्यस्तो नौलो कुरा त होइन । यद्यपि यसलाई नौलो र अनौठो मान्नेहरु पनि छन् । प्रचण्डले फेरि एमालेसँग गठबन्धन गर्दैछन् र काग्रेससँगको गठबन्धन तोड्दैछन् भन्दा कतिपयले पत्याएका छैनन् । एक वर्षअघि कांग्रेससँग माया पिरती गाँसेका प्रचण्डले यत्ति छिट्टै एमालेसँग पिरतीको हात अघि बढाउँदैछन् भन्दा आश्चर्य लाग्नु स्वभाविक नै हो । तर, राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसलाई सहयोग नगरी आफ्नै उम्मेदवार खडा गर्ने निर्णय स्थायी समितिबाट गराउनु प्रचण्डको चानचुने सोच भने होइन । यसको सिधा अर्थ हो अब उनी कांग्रेससँगको गठबन्धन टुटाउन चाहन्छन् । र, फेरि एमालेसँग जोडा जमाउँन चाहन्छन् ।
पछिल्ला केहीदिनका घटनाक्रमलाई नियाल्ने हो भने अब माओवादी र कांग्रेसको गठबन्धन भत्किएर एमाले र माओवादी सहितको नयाँ गठबन्धन बन्ने सम्भावना बढेको देखिन्छ । नेपाली कांग्रेसको महासमिति बैठकमा अबदेखि चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेश हुनु, उक्त प्रस्ताव पारित हुनु, नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षधर नेताहरुले गठबन्धनको आवश्यकता छैन भन्नु अनि माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पदमा आफ्नै पार्टीबाट उम्मेदवारी दिने निर्णय गर्नु भनेको अहिलेको गठबन्धन अब लामो समय नजाने बलियो संकेत हो । फागुन २९गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन जतिजति नजिकिँदो छ त्यतित्यति यो गठबन्धन धरमधर गरिरहेको छ ।
नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका र यसका विषयमा विभिन्न विश्लेषण गरिरहेका राजनीतिक पण्डितहरु यो गठबन्धनको आयु सकिन लागेको विश्लेषण गर्न थालेका छन् । उसैपनि कांग्रेस माओवादी सहितको गठबन्धन बनेदेखि नै यो गठबन्धन भत्काउन लागिपरेको एमाले अहिले आफ्नो बल थप लगाइरहेको छ । राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर माओवादी कांग्रेस गठबन्धनमा खटपट आएको चाल पाए लगत्तैबाट मौका यही हो भनेर घुँडा धसेको एमालेको प्रयास सफल हुने संकेत देखिएको छ भने अघिल्लो वर्ष एमालेसँग सम्बन्ध बिच्छेद गरेका प्रचण्ड स्वयं नै एमालेसँग कतिबेला जोडिऔं भन्ने मनसायमा रहेपछि अब यो गठबन्धन भत्किन र नयाँ गठबन्धन बन्न त्यत्रो महाभारत भने पक्कै छैन । अब केहीदिनमा नै प्रचण्ड र ओलीले बालुवाटारको प्रांगण या बालकोटमा बार्दलीबाट हात हल्लाउँदा त्यस्तो नौलो हुने छैन ।





