Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

तालतालका सांसद तालतालका माग, प्रधानमन्त्रीको खोजीदेखि टिकटक र सुन्तला सम्मका कुरा


शुक्रबारको संसद बैठकमा सांसदहरुले तालतालका विषय उठाएका छन् । प्रधानमन्त्री हराएकाले खोजी गरिदिनुप¥यो भन्नेदेखि लिएर कृषी मन्त्री हराए भन्ने सम्मका सांसद संसदमा देखिएका छन् । टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही होस् भन्नेदेखि लिएर सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने सम्मका आवाज सांसदहरुले संसदमा उठाएका छन् ।

नेकपा एमालेका सांसद सुर्य थापाले प्रधानमन्त्री हराएकाले खोजी गर्न संसद बैठकमा माग गरेका थिए । शुक्रबारको संसद बैठकमा बोल्दै सांसद थापाले सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै आक्रोश व्यक्त गरे । दुध किसान, मिटरब्याजपीडित, सहकारी पीडित लगाएत सडकमा आउँदा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको उनको भनाई थियो । केही मन्त्रीहरुको राजीनामाका विषयमा पटक पटक संसदमा आवाज उठ्दा समेत प्रधानमन्त्री संसदमा नआई भाग्नु आपत्तिजनक भएको सांसद थापाले बताए । कि त संसद स्थगित गर्नुपर्ने कि त प्रधानमन्त्रीको खोजी गर्नुपर्ने भन्दै सांसद थापाले प्रधानमन्त्री छोरीको नगरपालिकातिर गएको भन्ने कुरा आफूले सुनेको बताउँदै वास्ताविकता बुझ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री हराएको भन्दै खोजी गर्नुपर्ने कुरा सांसद थापाले बताएपछि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा भने रुष्ट बनेका थिए । छोरी नगरपालिका कहाँ पर्छ भन्दै सांसद खतिवडाले एमाले सांसद सुर्य थापालाई कटाक्ष गरेका थिए । आफूलाई ७५३ वटा नगरपालिकाका विषयमा जानकारी भएपनि छोरी नगरपालिकाका विषयमा थाहा नभएको भन्दै सांसद थापाप्रति व्यंग्य गरेका थिए ।

शुक्रबारको संसद बैठकमा एमालेका सांसदले प्रधानमन्त्री हराएको भन्दै खोजीको माग गरिरहँदा नेपाली कांग्रेसका अर्का एक सांसदले भने कृषि मन्त्री हराएको बताए । पूर्वमन्त्री समेत रहेका कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले किसानले मूल्य नपाएर हजारौं लिटर दूध सडकमा फाल्दा पनि कृषि मन्त्री बेखबर भएको देख्दा आफूलाई अचम्म लागेको बताए । किसानले सडकमा दुध फालेको हृदयविदारक दृश्यले आफू भावुक भएको बताउँदै उनले कृषि मन्त्रीलाई संसदमा आएर जवाफ दिन माग गरे । शुक्रबारको संसद बैठकमा टिकटक पूरै बन्द नभएको भन्दै अर्का एक सांसदले अझै पनि टिकटक चलाउन दिने इन्टरनेट सेवा प्रदायकलाई हदै सम्मको कारबाही हुनुपर्ने माग गरे । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका हुन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता.पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेर स्वागतयोग्य काम गरेपनि त्यसको पूर्ण कार्यान्वयन गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे । अझैपनि केहीले टिकटक चलाइरहेको भन्दै उनले टिकटक बन्द नगराउँने इन्टरनेट सेवा प्रदायकलाई सख्त कारबाही गर्नुपर्नेमा जोड दिए ।

यता संसदमा अर्का एक सांसदले भने सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका हुन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आँपलाई भारतले र हलुवाबेदलाई जापानले राष्ट्रिय फल बनाएको उदाहरण प्रस्तुत गरे । अरु देशले राष्ट्रिय फल घोषणा गरिसक्दा नेपाल भने पछि पर्न नहुने उनको भनाई थियो । उनले सुन्तलालाई राष्ट्रिय फल किन घोषणा नगर्ने भन्दै प्रश्न समेत गरेका थिए ।
नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको उल्लेख गर्दै यथोचित बजेट समेतको व्यवस्था गर्न उनले संसद बैठकमा माग गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार