नेकपा एमाले र माओवादी केन्द्र सहितको नयाँ सत्ता समिकरणको तयारी लगभग लगभग अन्तिम चरणमा पुगेका बेला यो विषयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निन्द्रा चेट पारिदिएको छ । आइतबार दिनभरजसो कहिले प्रचण्ड र ओलीको सिधा सिधा संवाद त कहिले प्रचण्ड र ओलीका दूतहरुको दौडधुप देखेर बेचैन बनेका कांग्रेस सभापति शेरबहादुर देउवले प्रचण्ड ओलितिर जाने पक्कापक्की जस्तै भएपछि उनीहरुबीच फाटो ल्याउन नयाँ उपाय अपनाएका छन् । आइतबार दिउँसोका दृश्यले राती निदाउँन नसकेका देउवाले ओली फकाउँन र प्रचण्डलाई ओल्लो घाट न पल्लो तिरको बनाइदिन मध्यरातमा ओली निवास बालकोटमा आफ्ना तर्फबाट दूत पठाएको खुलेको छ । बालकोट स्रोतका अनुसार देउवाले मध्यरातमा आफ्ना तर्फबाट ओलीलाई भेट्न र प्रचण्डसँग भड्काउँन बालकोटमा मन्त्री सीता गुरुङलाई पठाएका थिए । कांग्रेस र एमाले मिलेर सरकार बनाऔं प्रचण्डलाई अब बोक्न छाडिदिउँ भन्ने देउवाको प्रस्ताव लिएर मन्त्री सीता गुरुङ बालकोट पुगेकी हुन् । प्राप्त जानकारी अनुसार मन्त्री गुरुङ बालकोटमा पुग्दा ओलीसँग एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल छलफलमा व्यस्त थिए ।
मन्त्री सीता गुरुङले देउवाको प्रस्ताव ओलीसँग राखिन् । तर, ओली सहितका एमाले नेताहरुले यसबारे ठोस जवाफ दिएनन् । छलफल गर्न सकिने आशय सहितको सन्देश देउवामाझ पठाए । मन्त्री गुरुङ बालकोटमा पुग्नुपूर्व ओली , प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच छुट्टै संवाद भएको थियो । त्यो संवादले नयाँ सत्ता समिकरणको ढोका खोल्ने बलियो आधार देखेपछि देउवा झस्किएका हुन् । देउवाले प्रचण्ड फकाउँन त्यसअघि अनेक उपाय लगाए । तर, दुई साताअघिबाटै देउवासँग बिच्किएका प्रचण्ड बालकोटसँग नजिकिन थालेपछि देउवा ओली फकाउँने रणनीतिमा लागेका हुन् । निर्वाचन लगत्तै कांग्रेस र एमाले मिल्नुपर्नेमा प्रचण्डलाई काँध थाप्ने प्रतिष्पर्धा दुई पार्टीबीच चल्दा प्रचण्डले जहिल्यै घुर्की लाएर सरकारको नेतृत्व गरिरहेको ओली र देउवा दुबैको बुझाई छ । अहिले नयाँ सत्ता समिकरण बन्दा पनि प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । तर, एमालेसँग हुने सम्भावित सहमति प्रचण्डले लामो समय पालना गर्नेमा ओली स्वयं पनि ढुक्क छैनन् । अघिल्लो वर्ष पुस १० मा बनेको सहमति दुई महिना नबित्दै ब्रेक गरेर कांग्रेससहितको पुरानै गठबन्धनमा जोडिएका प्रचण्डले यसपटक पनि त्यस्तै नगर्लान् भन्ने विश्वस्त आधार ओलीले भेटेका छैनन् । यद्यपि कांग्रेस सहितको अहिलेको सत्ता समिकरण जसरी पनि भत्काउने मनस्थितीमा ओली रहेका कारण अब के हुन्छ यसै भन्न सकिन्नँ । कहिले एमालेको काँध त कहिले कांग्रेसको काँधमा चढेर प्रधानमन्त्रीको कुर्सीमा बसिरहने रणनीति अँगालेका प्रचण्डको मनपेट ओलीले पनि बुझेका छन् र देउवाले पनि । तर, संसदको तेस्रो दलका रुपमा रहेको माओवादीलाई काँध थाप्ने प्रतिष्पर्धाबाट दुबै दल बाहिर निस्किन नसक्दा भने प्रचण्डले जहिल्यै लाभ लिइरहेका छन् ।
अघिल्लो वर्ष दुई महिनासम्म एमालेको काँधमा चढेर प्रधानमन्त्री बनेका प्रचण्ड ओलीसँग ठाक्कठुक्क पर्ने बित्तिकै कांग्रेसको साथ खोज्न पुगे । कांग्रेसले पनि प्रचण्डलाई सत्ता सहयात्रामा साथ दिन रातो कार्पेट बिच्छ्याइदियो । प्रचण्ड करिब एक वर्ष कांग्रेसको साथमै रहेर एमालेमाथि खनिए । फेरि अहिले देउवासँग ठाक्कठुक्क परेपछि प्रचण्ड एमालेको साथ खोजिरहेका छन् । एमालेले फेरि उनलाई रातो कार्पेट बिच्छयाइदिने तयारी गरिरहेको छ । तर, एमालेको रातो कार्पेटमा प्रचण्ड कति समय हिँड्छन् त्यो यसै भन्न सकिन्नँ । अनि भन्न सकिन्नँ कांग्रेस सभापति शेरबहादुर शेरबहादुर देउवाले मन्त्री सीता गुरुङ मार्फत ओलीलाई पठाएको सन्देश अनुसार पो कांग्रेस एमाले सहितको नयाँ गठबन्धन अघि बढ्छ कि । त्यसो भयो भने कहिले कांग्रेससँग त कहिले एमालेसँग मिलेर प्रधानमन्त्री भइरहने प्रचण्डको सपना चकनाचुर हुन्छ । प्रचण्डको सत्तायात्रा उत्तानो टांग लाग्छ ।