रवि लामिछाने फेरि गृहमन्त्री बन्ने सम्भावना बढेर गएको छ । आइतबार बिहानबाट शुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको दौडधुपले सार्थकता पाउँने पक्कापक्की भएसँगै रवि लामिछाने फेरि गृहमन्त्री बन्ने सम्भावना बढेको हो । रवि लामिछाने सहितका नेताहरु अहिलेको गठबन्धन भत्काएर फेरि अघिल्लो वर्ष पुस १० मा बनेको पुरानो गठबन्धनलाई नै निरन्तरता दिने तयारीमा छन् । त्यही तयारी स्वरुप आइतबार रवि लामिछाने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा लामो छलफल भयो । उक्त छलफलमा एमाले, माओवादी र रास्वपा मिलेर जाने मौखिक सहमति भएको समाचार सार्वजनिक भएको छ ।
पाँच वर्ष सम्म अब कसैका पछि लागेर सरकारमा नजाने घोषणा गरेका रवि लामिछाने अब तत्कालै ओली र प्रचण्डका पछि लागेर सरकारमा सामेल भए भने त्यस्तो अनौठो हुनेछैन । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार रवि लामिछानेले नै अघिल्लो वर्ष पुस १० मा बनेर भत्किएको गठबन्धन ब्युँताउँन जोड दिइरहेका छन् । सहकारी प्रकरण लगाएतका विभिन्न प्रकरणले आफूलाई लखेट्न थालेपछि प्रचण्ड र ओलीको ओत लाग्नु लामिछानेले श्रेयष्कर ठानेको केहीसाता अघिदेखि नै राजनीतिक वृत्तमा चर्चा हुन थालेको थियो । सहकारी प्रकरणले लखेट्न थालेपछि रवि लामिछानेले बालकोटसँगको दोस्ती बढाउन शुरु गरेका थिए भने प्रचण्डसँग यसअघि आक्रामक देखिदै आएकोमा प्रचण्डप्रति नरम नीति अपनाएका थिए । सोही नीतिले रवि लामिछानेलाई फेरि सिंहदरबार प्रवेश गराउने लगभग पक्कापक्की जस्तै बनेको छ ।
ओली र प्रचण्डसँग आइतबार प्रधानमन्त्री निवास बालकोटमा नै भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेपछि हौसिएका रवि लामिछानेले सोमबार उज्यालो हुनेबित्तिकै पार्टीको सचिवालय बैठक बोलाए । अनि त्यो बैठकबाट नयाँ राजनीतिक परिस्थतीबारे निर्णय गर्ने सम्पूर्ण अधिकार आफूमा केन्द्रीत गरे । पार्टीको सचिवालय बैठकले विकसित राजनीतिक घटनाक्रमबारे निर्णय गर्ने अधिकार अहिले पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । यो निर्णयसँगै रवि लामिछानेले नयाँ गठबन्धन कस्तो बनाउँने, सरकारमा को को जाने लगाएतका विषयमा छलफल गर्न पार्टीको बैठक राखिरहनु पर्दैन । उनले जे निर्णय गर्छन् त्यो निर्णयमा पार्टीका नेताहरुले थपडी बजाउँनेछन् । यसअघि प्रचण्डलाई नानीका बा को उपमा दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यापक आलोचना गर्ने गरेका रवि लामिछाने अब सरकारमा सहभागी हुने कुरामा कुनै अन्यौल छैन । लामिछाने फेरि उपप्रधान सहित गृहमन्त्री बन्ने एकोहोरो ध्याउन्नमा छन् ।
पुस १० को गठबन्धन ब्युँताउँने कुरामा कांग्रेसले हाल्न खोजेको भाँजो सफल भयो भने बेग्लै कुरा । नत्र रवि लामिछानेकै शब्दमा उनी नानीका बाको नेतृत्वमा रहने सरकारमा उपप्रधान तथा गृहमन्त्री बन्नेछन् । अघिल्लो वर्ष पनि बालकोटका बा को दौराको फेरो समातेर रवि लाछिमानेले सिंहदरबारको यात्रा तय गरेका थिए । यसपटक पनि धेरैले भन्ने गरेका उनै बालकोटका बा को दौराको फेरो समातेर रवि लामिछाने सिंहदरबारमा पुग्नेछन् । छिनछिनमा परिवर्तन भइरहने नेपाली राजनीतिको मौसममा आज दिनभर चामत्कारिक परिवर्तन भएन भने रवि लामिछानेले गृहमन्त्रीको झण्डा हल्लाउँदै सिंहदबार बाहिर भित्र गर्नेछन् ।