Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

गोपाल ढकाल हत्या प्रकरणको अनुसन्धानप्रति मृतक परिवारको असन्तुष्टी


तेह्रथुमका गोपाल ढकाल हत्या प्रकरणको अनुसन्धानप्रति मृतकका परिवारले असन्तुष्टी व्यक्त गरेका छन् । आफ्नी श्रीमति जिस्क्याएको निहुँमा आफूले गोपाल ढकालको हत्या गरेको भन्दै भक्तपुरका सन्तोष सुवालले दिएको भनिएको बयानमा आफूहरुलाई पत्यार नभएको उनीहरुको भनाई छ ।

मृतक गोपाल ढकालकी बहिनी शोभा ढकालले हत्या आरोपमा पक्राउ परेका सन्तोष सुवालले दिएको भनिएको बयानमा आफूहरुको आपत्ति रहेको बताइन् । प्रहरीले ३३ वर्षीय ढकालको हत्या आरोपमा भक्तपुरका सन्तोष सुवाललाई शनिबार पक्राउ गरेको थियो । पक्राउ परेका सुवालले आफू र गोपाल ढकालबीच भट्टीमा रक्सी खाने क्रममा चिनजान भएको, करिब दुई घन्टा आफूहरु सँगै बसेर रक्सी खाएपछि आफैंले गोपाल ढकाललाई आफ्नो घरमा जानका लागि प्रस्ताव गरेको र गोपाल ढकाल आफ्नो प्रस्ताव बमोजिम घरमा गएको प्रहरीलाई बयान दिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । पक्राउ परेका सन्तोष सुवालले प्रहरीसँगको बयानमा आफ्नो घरमा सँगै गएका गोपाल ढकालले केहीबेरपछि आफ्नी श्रीमतिलाई जिस्क्याउन थालेपछि आफूले सहन नसकेर इँटाले हानी ढकालको हत्या गरेको भनेका थिए । तर, सुवालले गरेका कुरा बनावटी रहेको भन्दै मृतकको परिवारले भने गोपाल ढकालको हत्या आकस्मिक रुपमा नभई योजनाबद्ध रुपमा भएको बताएको छ । प्रहरीले आफूहरुलाई शुरुमा घटना ‘योजनाबद्ध’ भएको हुन सक्ने बताएको तर अहिले आकस्मिक रूपमा घटेको भनेपछि आफूहरु आश्चर्यचकित भएको मृतककी बहिनी शोभा ढकालले बताइन् । उनले भनिन्, ‘ यसअघि योजनाबद्ध रूपमा घटना भएको, हामीसँग केही क्लू छन् भनेर प्रहरीले हामीलाई भनेको थियो, अहिले आकस्मिक भएको हो भनिएको छ, यसमा सन्तोष मान्न सकिएन ।’

पोष्टमार्टम रिपोर्टमा कुनै बेहोस् हुने खालको नशालु पदार्थ सेवन गराएको देखिएको भन्दै मृतककी बहिनी शोभा ढकालले त्यो चिज के थियो भन्ने कुरा प्रहरीले बाहिर ल्याउनुपर्नेमा जोड दिइन् । योजना बनाएरै घटना घटाइएको देखिने आधारहरु हुँदाहुँदै पनि प्रहरीले घटनाको सुक्ष्म अध्ययन नगरी प्रेस मिट गरेको मृतककी बहिनी शोभा ढकालको भनाई छ ।

हत्यामा संलग्न व्यक्तिले दिएको भनिएको बयानमा व्यक्त भएका कुरा सतप्रतिशत सत्य हुन् भने झैं गरी प्रहरीले भन्नुले मृतकका परिवार थप पीडामा परेको उनको भनाई छ । हत्यामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने र घटना योजनाबद्ध रुपमा भएको बताउँदै उनले आकस्मिक चिनजानकै आधारमा कोही पनि व्यक्ति कसैको कोठामा गइहाल्ने अवस्था नहुने बताइन् । प्रहरीले आइतबार गरेको प्रेस मिटमा रक्सीले मात्तिएका गोपाल ढकाल र सन्तोष सुवाल दुबै जना सन्तोष सुवालको घरमा गएको र त्यसअघि उनीहरुको चीनजान कहिल्यै नभएको पाइएको उल्लेख थियो । भट्टीमा भेट भएका अपरिचित मान्छेहरु रक्सी खानेबित्तिकै त्यो हदसम्म नजिकिएर घरसम्म गए भन्ने कुरा अपत्यारिलो भएको भन्दै मृतककी बहिनी शोभा ढकालले घटना आकस्मिक भन्दा पनि योजनाबद्ध नै भएको दाबी गरिन् । यो घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने बताउँदै उनले सबै सत्यतथ्य बाहिर ल्याउन प्रहरीसँग माग गरेकी छिन् ।

आफ्ना दाजु गोपाल ढकाल रक्सीले मात्तिएर त्यो दिन लठारिँदै अर्काको घरमा गएको भन्ने कुरामा पनि उनको शंका छ । १० दिनअघि मात्रै भाउजूको अपरेसन भएको र अपरेसन गरेकी श्रीमतिको हेरचाहमा रहेका श्रीमान त्यसरी जथाभावी गर्दै हिँडे भन्ने कुरामा सत्यता हुन नसक्ने उनको दाबी छ । अहिले हत्या आरोपमा पक्राउ परेका व्यक्ति र अन्यको मिलेमतोमा योजना बनाएरै गोपाल ढकालको हत्या भएको बताउँदै उनले मृतकका परिवार घटनाको सत्यतथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार