Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

दुर्गा प्रसाईलाई समात्ने तयारी, अर्थमन्त्रीले गरे संकेत


अभियन्ता दुर्गा प्रसाई नयाँ गठबन्धनको तारो बन्ने संकेत देखिएको छ । बैंक तथा वित्तिय संस्थाहरुको ऋण नतिर्न प्रसाईँले उक्साइरहेको भन्दै उनलाई पक्राउ गर्ने तयारी भइरहेको बुझिएको हो । बैंक तथा वित्तिय संस्थाहरुको ऋण नतिर्न उक्साउनेहरुमाथि कारबाहीको डण्डा बर्साउने र त्यसको पहिलो सिकार दुर्गा प्रसाइँ हुन सक्ने सिंहदरबार स्रोतले जनाएको छ । त्यसो त बैंक तथा वित्तिय संस्थाको ऋण नतिर्न उक्साउनेमाथि सरकार निर्मम तबरले प्रस्तुत हुन लागेको कुरा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले नै बताइसकेका छन् । मन्त्री पुनलाई बधाई दिन बिहिबार सिंहदबारमा पुगेका बैंकर्सहरुसँग नवनियुक्त अर्थमन्त्री पुनले वित्तिय अराजकता फैलाउन खोज्ने तथा बैंकहरुको ऋण तिर्न पर्दैन भनेर मान्छेहरु भड्काउनेलाई सरकारले नछाड्ने बताएका थिए । बैंक तथा वित्तिय संस्थाहरुको ऋण तिर्न पर्दैन भनेर अभियान चलाउनेहरुलाई सरकारले निगरानीमा राखेको बताउँदै उनले गलत अभियान चलाउँने जो कोही भएपनि तीनलाई सरकारले नियन्त्रणमा लिने बताएका हुन् ।

एनआइसी एसियादेखि लिएर विभिन्न बैंकको नाम लिँदै ती बैंकहरुले जनता ठगी गरेको भन्दै अभियन्ता दुर्गा प्रसाईले त्यस्ता बैंक र संस्थाको ऋण नतिर्न पटक पटक भन्दै आएका छन् । सँगै प्रसाईले नेपाल राष्ट्र बैंकका गभर्नरदेखि लिएर विभिन्न पेशाकर्मी र बैंकरहरुलाई देश सिध्याउन लागिपरेका ठगको संज्ञा दिँदै आएका छन् । उनको प्रस्तुती र अभियानले नेपालको बैंकिङ क्षेत्रलाई नै बदनाम बनाएको भन्दै प्रसाईलाई नियन्त्रणमा लिन यसअघि पनि केहीले सरकारलाई दबाब दिएका थिए । तर, प्रसाईलाई पक्राउ गर्न दबाब आएपनि तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रसाईप्रति कडा बनेका थिएनन् । तर, अहिलेका गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुन दुबैजना दुर्गा प्रसाईसँग चिढिएका छन् । रवि लामिछाने र वर्षमान पुन मन्त्री बन्नुपूर्व नै आफ्ना अभियानका क्रममा दुर्गा प्रसाईले विभिन्न तबरबाट आफूहरुको नाम लिएकोमा प्रसाईसँग यी दुई मन्त्रीहरु रुष्ट छन् । अर्थमन्त्री वर्षमान पुनलाई सुन प्रकरणसँग जोडेर प्रसाईले गर्ने गरेका टिप्पणी अनि रवि लामिछानेलाई सहकारीदेखि लिएर खोया प्रकरणसम्मका विषयमा प्रसाईले गरेका तिखा टिप्पणीले अहिलेका गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुन दुबैजना प्रसाईँसँग रुष्ट छन् ।

प्रसाईका अभिव्यक्ति र कार्यशैलीलाई गम्भिर रुपमा लिनुपर्नेमा यी दुबै मन्त्री सहमत देखिन्छन् । त्यसैले पनि रवि लामिछाने र वर्षमान पुन मन्त्रीपरिषदमा रहेका बेला प्रसाईका दिन त्यति राम्रा नहुन सक्छन् । रवि लामिछानेसँग एक हिसाबले भन्ने हो भने प्रसाईँको सम्बन्ध लामिछाने सञ्चारकर्मी भएदेखि नै खराब छ । आफूसँग लामिछानेले सञ्चारकर्मी रहेका बेला नै तेस्रो व्यक्तिमार्फत लाखौं रुपैंयाँ मागेको आरोप प्रसाईले सार्वजनिक रुपमा नै लगाएका छन् । यसबाट पनि लामिछाने प्रसाईसँग फायर छन् । कतिपयले त प्रसाईँसँगको रिस साँध्ने बेला नै रवि लामिछानेका लागि यही हो भनेका छन् । प्रसाईले आफ्ना विषयमा बोलेका कुरालाई लिएर गृहमन्त्री रवि लामिछाने पूर्वाग्रही होलान् या नहोलान् त्यो बेग्लै कुरा हो । तर, बैंकिङ अराजकता निम्त्याउन खोजेको आरोपमा भने अर्थमन्त्री वर्षमान पुन र गृहमन्त्री रवि लामिछाने प्रसाईका विषयमा एक ठाउँमा पक्कै उभिन्छन् । प्रसाईका अभिव्यक्ति न त गृहमन्त्री रवि लामिछानेलाई पचेको छ न त अर्थमन्त्री वर्षमान पुनलाई नै । प्रसाईका विषयमा गृहमन्त्रीले अहिले केही बोलेका छैनन् । तर, अर्थमन्त्री वर्षमान पुनले भने प्रसाईको नाम नलिइकन उनलाई चेतावनी दिएका छन् । बैंकको ऋण नतिर्न उक्साउने र त्यस्तो अभियान चलाउँने तथा अभियानमा संलग्न हुनेहरुमाथि सरकार निर्मम बन्ने अर्थमन्त्रीको भनाई छ । उनको यो भनाईलाई केलाउँदा अर्थमन्त्रीको प्रहार अरुतिर नभई दुर्गा प्रसाईतिरै हो । आफ्नै कार्यकक्षमा बैंकर्सहरुको बधाई लिँदै अर्थमन्त्री वर्षमान पुनले जे संकेत गरे यसबाट बुझ्न सकिन्छ ः प्रसाईमाथि अब सरकारले निगरानी बढाउँदैछ । र, उनलाई नियन्त्रणमा लिने उपयुक्त समयको पर्खाईमा छ ।


प्रतिक्रिया दिनुहोस !
विचार