Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

राप्रपा पार्टी कार्यालयमा कुटाकुट, राजेन्द्र लिङदेनको ढोकामै मारमुङग्री


मध्य चैतबाट आन्दोलन गर्ने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवादले उग्र रुप लिँदै गएको समाचार सार्वजनिक भइरहेका बेला पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक जना व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्नुपूर्व नेताहरु बाहिर निस्कने क्रममा कुटपिट भएको हो । कसले कसलाई के कारणले कुटपिट गरेको हो भन्ने विषयमा यो समाचार तयार पार्दा सम्म पुष्टी हुन नसकेपनि राप्रपाभित्रको विवादकै विषयलाई लिएर कार्यकर्ताहरुबीच कुटपिट भएको हुन सक्ने आंकलन गरिएको छ । पार्टी बैठकका विषयमा जानकारी गराउँन नेताहरु पत्रकार सम्मेलन कक्षमा जान लागेका थिए । अध्यक्ष राजेन्द्र लिङदेनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरु निस्कँदै थिए । ठिक त्यही समयमा एकजना व्यक्ति दौडँदै लिङदेनको कार्यकक्ष बाहिर आइपुगे । त्यहीक्रममा अध्यक्ष लिङदेनको कार्यकक्ष बाहिरको ढोकामै ती व्यक्तिलाई अन्य केहीले कुट्न थाले । मुक्कै मुक्का प्रहार हुन थालेपछि आक्रोशित भीडलाई नेताहरुले रोकेका थिए । थप कुटाई खानबाट जोगाएर ती व्यक्तिलाई नेताहरुले लिङदेनको कार्यकक्षभित्र प्रवेश गराएका थिए ।

सार्वजनिक भएको एक भिडियोमा कुटाई खाने ती व्यक्तिले कोर्ट पाइन्ट लगाएका छन् भने उनलाई मास्क लगाएका केही व्यक्तिले मुक्का प्रहार गरिरहेका छन् । भिडियो हेर्दा ती व्यक्तिले लिङदेनको कार्यकक्षमा पुग्नुअघि नै कुटाई खाएको अनुमान गर्न सकिन्छ । पार्टी कार्यालय परिसरमा त्यसअघि कुटाई खाएका ती व्यक्तिलाई एउटा समुहले लखेट्दै अघि बढिरहेको थियो भने उनी भाग्ने क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पुगेका थिए । टाउको र मुखमा ताकेर मुक्का प्रहार हुन थालेपछि उनले औंला ठड्याएर त्यो समुहमाथि केही भन्न खोजिएजस्तो भिडियोमा देखिन्छ । तर, लगातार मुक्कार प्रहार हुन थालेपछि ती व्यक्ति पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षभित्र प्रवेश गर्न खोज्छन् । लिङदेनको कार्यकक्षभित्र प्रवेश गर्नका लागि ढोका उघार्न लागेका ती व्यक्तिको टाउकोमा लगातार प्रहार भएको देखिन्छ । ढोका उघार्नेबित्तिकै भित्रबाट बुद्धिमान तामाङ, दीपक सिंह राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारी लगाएतका नेताहरु बाहिर निस्कन्छन् । मुख्यसचिव केदारबहादुर अधिकारी अकस्मात आफ्नै अघि मान्छे कुटिन थालेपछि अलमलमा पर्छन् भने बुद्धिमान तामाङ, दीपक सिंह लगाएतका नेताहरु भिडलाई रोक्न खोज्छन् । सार्वजनिक भएको भिडियोमा हातमा फायल बोकेका राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारी भिडदेखि तर्किदै फायल बोकेर अघि बढेको देखिन्छ ।

राप्रपाको पार्टी कार्यालय र त्यसमा पनि अध्यक्ष राजेन्द्र लिङदेनकै कार्यकक्षको ढोकामै भएको यो घटनाका विषयमा भने राप्रपाले केही बोलेको छैन । कोशी प्रदेशको सभामुखको विषयलाई लिएर राप्रपाका माथिल्लो तहका नेताहरुबीच भएको दन्त बझान केहीदिनदेखि रोकिएको भएपनि त्यसको असर कार्यकर्ता तहमा नराम्रोसँग देखिएको छ । माथिल्लो तहका नेताहरुले आ आफ्ना पक्षका कार्यकर्तालाई उचालेर आफूहरु भने रमिता हेर्न व्यस्त भएको राप्रपाकै केही नेताहरुको भनाई छ । माथिल्लो तहका नेताहरुबीचको इगोले कार्यकर्ताहरुलाई आगो बनाएको छ भने आगो बनेका कार्यकर्ताहरु आपसी मारपिटमै उत्रिएका छन् । केही समयअघि बसेको राप्रपा आन्दोलन तयारी समितिको बैठकमा काठमाडौंका एक जिल्ला तहका नेताले पार्टीका ठूला नेताहरु आपसमा नमिले कुटिदिने चेतावनी दिएका थिए । माथिल्लो तहका नेताहरु नमिल्दा कार्यकर्ता तहमा निराशा पैदा भएको बताउँदै उनले नेताहरुलाई तत्काल मिल्न भनेका थिए । तर, नेताहरुको शीतयुद्ध तत्कालका लागि सकिएपनि कार्यकर्ताहरुबीच भने त्यतिबेलाको विवादको तुष अझै मेटिएको छैन । गणतन्त्र ढाल्नका लागि आन्दोलन गर्ने भनेर प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाले ४० बुँदे ज्ञापनपत्र पेश गरेको छ भने राप्रपाको पार्टी कार्यालयमा पुगेका नेता कार्यकर्ताहरु आफू आफूबीचमा मारमुङग्रीको तहमा उत्रिएपछि यसले राप्रपाका शुभेच्छुकहरुलाई निराश बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार