Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बालेनलाई शोक ! रहेनन् राजनीतिक गुरु


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका राजनीतिक गुरु नरसिंह ब्यञ्जनकारको निधन भएको छ । राजनीतिमा लाग्न बालेन शाहलाई प्रेरित गरेका व्यञ्जनकारको आइतबार अपरान्ह काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । ललितपुरका स्थायी बासिन्दा व्यञ्जनकार स्वतन्त्र उम्मेदवारी अभियानका आदर्श पुरुष मानिन्थे ।

लगातार १० पटक सम्म स्वतन्त्र रुपमा उम्मेदवारी दिएर ललितपुर महानगरपालिकाको वडा नं. १० मा लगातार चुनाव जितेका व्यञ्जनकारकै प्रेरणाले आफू राजनीतिमा लागेको चुनावअघिको एक अन्तर्वार्तामा बालेन शाहले आजको प्रेसलाई बताएका थिए । आफ्ना लागि राजनीतिको आदर्श पात्र नै व्यञ्जनकार रहेको बालेन शाहको भनाई थियो ।
दुई वर्षअघि चुनावी मैदानमा उत्रँदा नरिसंह व्यञ्जनकारबाट आशिर्वाद लिएर बालेन शाहले चुनावी अभियान शुरु गरेका थिए । औपचारिक रुपमा चुनावी अभियान शुरु गर्नुभन्दा पहिले बालेन शाहले नरसिंह व्यञ्जनकारबाट चुनावी आइडिया समेत लिएका थिए । तत्कालिन अवस्थामा बालेन शाहले आफू नरसिंह व्यञ्जनकारबाट प्रभावित भएर राजनीतिमा लागेको भन्ने कुरा बताएपछि आजको प्रेसले बालेन शाहका राजनीतिक गुरु नरसिंह व्यञ्जनकारको समेत अन्तर्वार्ता गरेको थियो । आजको प्रेस डटकमसँगको कुराकानीका क्रममा नरसिंह व्यञ्जनकारले बालेन शाह राम्रो युवा भएको बताउँदै बालेन शाहलाई जितका लागि शुभकामना समेत दिएका थिए ।

नरसिंह व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो । त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्ना माइला बा का छोरालाई हराएका थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर उनले पहिलो पटकमा नै चुनाव जितेका थिए । त्यसपछि उनको वडाअध्यक्षको विजय यात्रा स्थानीय तहको गएको निर्वाचन सम्म निरन्तर अघि बढेको थियो । स्थानीय तहको पछिल्लो निर्वाचनमा भने उनको अबिराम जीतको यात्रा रोकिएको थियो । ८१ वर्षको उमेरमा उनी ललितपुर १० बाट फेरि स्वतन्त्र उम्मेदवार बनेका थिए । तर, जीवनको उतरार्धमा भने उनले चुनाव जित्न सकेनन् । पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो । त्यसबेला पनि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे । २०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन । कुनै पार्टीले टिकट नदिएता पनि उनी चुनाव लडे । र, फराकिलो मतका साथ जिते । त्यो चुनावमा त उनले जितेनन् मात्रै बाँकी सबै उम्मेदवारको जमानत नै जफत हुनेगरी मत ल्याए । २०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार