आज ग्याल्पो ल्होसार । ल्होसार मनाउन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। तर, शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार पर्व मनाएको खुलासा भएको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्वजनिक बिदा दिए पनि शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार मनाएको शेर्पा सङ्घका एक सदस्यले जानकारी दिए।
यसवर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेकोले त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको उनले बताए।
त्यतिबेला प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरुलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उनको भनाइ छ । गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टि जनाएका छन् ।
शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले पात्रोमा बिदा राखेकोमा उनीहरुको आपत्ति छ । यसवर्ष पात्रोमा गलत लेखिएकाले आफूहरुले सच्याउन आग्रह गरे पनि सरकारले बेवास्ता गरेको शेर्पा सङ्घले जनाएको छ ।