Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बालेनलाई पक्राउ गर्न गोप्य बैठक बसेको खुलासा, देउवाका कारण गृहमन्त्री पछि हटेको दाबी


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्ने योजना अनुसार केही महिनापहिले प्रधानमन्त्री, गृहमन्त्री लगाएतको गोप्य बैठक बसेको खुलासा भएको छ । अघिल्लो गठबन्धनको सहयात्री दलका रुपमा रहेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले यस्तो खुलासा गरेका हुन् । काठमाडौं महानगरपाकिलाका मेयर बालेन शाहले गएको भदौ महिनामा सिंहदबार जलाइदिने चेतावनी सहितको स्टाटस लेखेपछि उनलाई पक्राउ गर्न प्रधानमन्त्री र तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुखहरुको गोप्य बैठक बसेको डा.राउतको दाबी छ ।

उक्त बैठकमा आफूलाई पनि बोलाइएको र बालेन शाहलाई पक्राउ गर्ने विषयम प्रधानमन्त्रीले आफ्नो राय लिएको डा. राउतले कान्तिपुर टेलिभिजनसँगको एक अन्तर्वार्ताामा बताएका छन् । प्रधानमन्त्री र गृहमन्त्री जुनसुकै हालतमा पनि बालेन शाहलाई पक्राउ गर्ने तयारीमा रहेको तर, उक्त गोप्य बैठकमा आफूले बालेन शाहलाई पक्राउ गर्न नहुने अडान राखेको डा.राउतको दाबी छ । बालेन शाहलाई पक्राउ गर्ने योजना अनुसार नै बोलाइएको उक्त गोप्य बैठकमा आफ्नो राय सुनेपछि पनि प्रधानमन्त्री प्रचण्डले बालेनलाई पक्राउ गर्नुपर्ने कुरा बताएपछि कांग्रेस सभापति शेरबादुर देउवाले प्रतिवाद गरेको डा.सिके राउतको भनाई छ । राउतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिँदैमा पक्राउ गर्न नहुने बताएका थिए । बालेनले आगो लाइदिने चेतावनी पो दिएका हुन् त आगो नै लाएका त छैनन् नि भन्दै देउवाले बालेनको बचाउ गरेको डा.सिके राउतले खुलासा गरेका छन् । देउवाले पनि बालेनलाई पक्राउ गर्न हुँदैन् भनेपछि चाहिँ प्रधानमन्त्री प्रचण्ड पछि हटेको डा.राउतको दाबी छ । लोकतान्त्रिक शक्ति कम्युनिष्टहरु भन्दा धेरै उत्तम हुन्छन् भन्ने सवालमा डा.सिके राउतले गोप्य बैठकको सन्दर्भ कोट्याएका थिए ।

कान्तिपुरसँगको अन्तर्वार्ताका क्रममा डा.राउतले बालेन शाहको लोकप्रियताका बारेमा प्रधानमन्त्री प्रचण्डलाई आफूले सम्झाएको बताएका छन् । बालेन शाहले लेखेको स्टाटसका आधारमा उनलाई पक्राउ गर्न नहुने बताउँदै आफूले बैठकमा प्रचण्डलाई बालेन शाहको स्टाटसमा आएका कमेन्ट हेर्न समेत सुझाएको उनको भनाई छ । बालेन शाहलाई पक्राउ गर्न बसेको भनिएको गोप्य बैठकका विषयमा डा.सिके राउतले यसरी आफ्ना भनाई रोखका छन् :

म एउटा उदाहरण तपाईँलाई दिन्छु, एकपटक हाम्रो त्यहाँ बैठक बस्यो । बडो गोप्य तरिकाले बैठक बसेको थियो । किन हो, एजेण्डा के हो भन्ने केही थाहा छैन हामी गयौं । त्यहाँ प्रधानसेनापतिदेखि लिएर प्रहरी प्रमुखदेखि लिएर सारा तीनैवटा जिल्लाका सिडिओहरु सबै थिए , त्यहाँ के रहेछ भन्दाखेरी काठमाडौं महानगरपालिकाको मेयरज्यूले सिंहदरबारमा आगो लाउँछु, नेताहरु चोर हुन् भनेर एउटा स्टाटस लेख्नुभएको रहेछ अनि त्यसको लागि चाहिँ पक्राउ गरौं कि भनेर बैठक बसेको रहेछ । अनि त्यहाँ मैले फस्टटाइम रियलाइज गरेँ कि लोकतान्त्रिक शक्ति भन्या कस्तो हुन्छ र बामपन्थी शक्ति कस्तो हुन्छ । त्यो बेला सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई सोध्नुभयो के गर्ने भनेर । नयाँले नयाँलाई समर्थन गर्छ कि भन्ने उहाँलाई आशंका लागेको होला । मैले चाहिँ भनेँ, कुनैपनि हालतमा उहाँलाई पक्राउ गर्न हुँदैन, सवा लाख जति कमेन्ट आएको छ त्यहाँ पढ्नुस । नाइन्टी फाइभ पर्सेन्टले सरकारलाई नै गाली गरेको छ , उहाँको समर्थन गरेको छ । यस्तो अवस्थामा कुनैपनि हालतमा उहाँलाई पक्राउ गर्न हुँदैन । तर, उहाँहरु चाहिँ हामी चोरै हौं त ? हामीलाई यस्तो भन्ने भनेर पक्राउ त जसरी पनि गर्नुपर्छ भन्ने अडान लिनुभयो । प्रधानमन्त्री र गृहमन्त्रीज्यू जसरी पनि ठोक कि ठोक भन्ने शैलीको भाषमा बोल्नुभयो । तर, त्यतिबेला चाहिँ अडान लिनुभयो नेपाली कांग्रेसको सभापतिज्यूले । उहाँले भन्नुभयो, यस्तो बोलिराख्छन् लोकतन्त्र हो बोल्दैमा कहाँ आगो लाइदियो त , बोल्न पाउनुपर्छ । अनि त्यतिबेला चाहिँ उहाँले अडान लिनुभएको थियो । मलाई समर्थन गर्दै । त्यसरी फरक पर्छ कि लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिमा ।

बालेन शाह पक्राउको योजनाका साथ बसेको भनिएको बैठक र त्यहाँ भएका भनिएका यी कुराहरु डा.सिके राउतले सार्वजनिक गरेपछि यसले यतिबेला सामाजिक सञ्जालमा तरंग सृजना गरेको छ । बालेन शाहलाई पक्राउ गर्ने योजना नै बनाउनेगरी प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख र गठबन्धनका नेताहरु बसेको भनिएको उक्त बैठकका बारेमा यति कुरा गरेपछि अब प्रस्तुत गर्दैर्छौं बालेन शाहले उतिबेला लेखेको स्टाटस । भदौ १६ गते शनिबार साँझ उनले लेखेको स्टाटस यस्तो थियो :
आजको लागि केही भएन भोलिबाट हाम्रो महानगरपालिकाको गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लाइदिन्छु । याद राख चोर सरकार ।

उतिबेला बालेन शाहको यो स्टाटसपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आएका थिए । बालेनको गाडी किन रोकियो भनेर केहीले प्रश्न गरेका थिए भने त्यसको भोलिपल्ट उक्त गाडीमा उनकी श्रीमति सवार रहेको खबर सार्वजनिक भएको थियो । सुत्केरी श्रीमति सवार गाडी राकिएँपछि बालेन शाह फायर बनेको भन्दै प्रसुती व्यथाले च्यापेकी श्रीमतिलाई प्रहरीले अनावश्यक दुःख दिँदा बालेन रिसाउनुलाई केहीले स्वभाविक भनेका थिए । तर, उनकी श्रमिति भने उक्त गाडीमा सवार रहेको भएपनि सुत्केरी भने त्यसको करिब एक साताअघि नै भएको खबर पनि त्यतिबेला सार्वजनिक भएको थियो । बालेनकी श्रीमति सवार गाडी प्रहरीले रोकेको, बालेनले सिंहदरबार जलाइदिने चेतावनी सहितको स्टाटस लेखेको लगाएतका विषयमा उतिबेला व्यापक चर्चा परिचर्चा भएपनि उक्त स्टाटसकै कारण प्रधानमन्त्री र गृहमन्त्री बालेनलाई पक्राउ गर्ने तयारीमा थिए भन्ने कुरा भने यसअघि बाहिरिएको थिएन । तर, सो बारेमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले एउटा अन्तर्वार्ताकै क्रममा खुलासा गरेपछि भने यो विषयले फेरि सामाजिक सञ्जाल तरंगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार