ओलीसँग गाँसिएको राजनीतिक पिरतीको बरमाला बुधबार प्रधानमन्त्री प्रचण्डले पहिरिने कार्यक्रम थियो । संसदमा तेस्रोपटक विश्वासको मत लिएर प्रचण्ड त्यो बरमाला पहिरिने तयारी गरिरहेका थिए । संसदको मण्डपमा विभिन्न राजनीतिक दलका पण्डितहरुको स्वस्ती वाचन चलिरहेको थियो । आक्रोश, चेतावनी, पोलापोल र दन्तबझानको स्वस्ती वाचन । प्रधानमन्त्री प्रचण्डले आफूले संसदमा विश्वासको माला फेरि पहिरिन चाहेको भन्दै विश्वासको मतका लागि प्रस्ताव गरे । त्यसपछि शुरु भयो संसदको रोचक दृश्य । प्रचण्डपछि बोलेका ओली शुरुमा कांग्रेससँग खनिए । प्रचण्डलाई सायद लागेको थियो होला, बोल्दै जाँदा अब ओलीले मेरो प्रशंसामा पनि केही शब्द खर्चनेछन् । तर, त्यस्तो भएन । कांग्रेसमाथि घोचपेच गर्दै अघि बढेका ओलीले त एकाएक देउवालाई नयाँ अफर पो गरे । निकै पहिलेदेखि आफूले बसेर सल्लाह गरौ भन्दा देउवाले नसुनेको भन्दै उनले संसद बैठकमै प्रस्ताव गरे ः देउवाजी बसेर कुरा गरौं न , कुरै गर्न नहुने सँगै बस्नै नहुने जस्तो नसोच्नुस् । देशका लागि मिलौं ।
विश्वासको मत लिने दिन नै देउवालाई ओलीले राखेको यही प्रस्तावले प्रचण्डको मनमा चिसो पस्यो । अझ चिसो त त्यतिबेला पस्यो जतिबेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदको रोष्ट्रमबाट ओलीले राखेको प्रस्तावका विषयमा उल्लेख गर्दै आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले हुन्छ भनेर आँखा सन्काएको बताए । त्यसपछि स्वभाविक रुपमा प्रचण्डको छटपटि बढ्दै गयो । अझ ज्यादा छटपटि त त्यतिबेला भयो जब माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई औंला ठड्याउँदै अनैतिक र रंग फरिरहने मान्छे भनी टीप्पणी गरे । विश्वासको मत चाहिँ तपाईँलाई दिन्छौं तर, तपाई यस्तो उस्तो भन्दै भाषण छाँट्न थालेपछि प्रचण्डको रिसको पारो बढ्दै गयो । अरुको बोल्ने पालो सकिएपछि सभामुखले प्रधानमन्त्री प्रचण्डलाई संसदमा उठेका प्रश्नको जवाफ दिन अनुमति दिए । त्यसपछि भने प्रचण्ड रोष्ट्रममा गएर जंगिन थाले । बोल्दै जाने क्रममा उनले ओलीप्रति असन्तुष्टी मात्रै व्यक्त गरेनन् ओलीलाई चुनौती नै दिए, अघि देउवासँग बसेर कुरा गरौं भन्दै हुनुहन्थ्यो गर्ने भए गर्नुस् न मलाई प्रेसरमा राख्नेगरी यस्तो भन्ने ? उनी यत्तिमै रोकिएनन् कांग्रेस र एमाले मिलेर जाने भए आफू प्रतिपक्षीको कुर्सीमा बस्न तयार रहेको भन्दै ओलीलाई कुरो के हो भन्ने शैलीमा प्रश्न गरे ।
कोही कसैका धम्की र चेतावनीले माओवादी नडराउँने बताउँदै उनले प्रचण्ड धेरै संकटको सामना गरेर आएको मान्छे हो याद गर्नुहोला भन्न भ्याए ।
प्रतिपक्षमा रहेकाहरुले आफूलाई यस्तो त्यस्तो भन्नु स्वभाविक नै रहेको भएपनि सत्ता पक्षबाटै धाक धम्कीको भाषा बोलिनु भनेको ठिक नभएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । संसदमा विश्वासको माला पनि पहिराउँने र आफ्नो खेदो पनि खन्ने काम सत्तापक्षबाटै भएपछि यसले प्रचण्डलाई झस्काएको छ भने ओली र प्रचण्डको माया पिरती लामो समय सम्म टिक्ला भन्नेमा शंका उत्पन्न भएको छ । मण्डपमै बेहुला बेहुलीको ठाक्कठुक्क पर्नु वैवाहिक जीवनका लागि शुभ संकेत नभए जस्तै विश्वासको मत लिने दिनमा नै सत्ता सहयात्री ठूला दलका नेताबीचको घोचपेचले अनेकन प्रश्न उब्जाइदिएको छ ।