चेकलिष्ट सहित काम शुरु गरेको बताएका गृहमन्त्री रवि लामिछानेले केहीदिनमा नै ठूला नेता तथा पूर्व प्रहरी समात्ने तयारी गरेका छन् । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझेलगत्तै बिहिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका लामिछानेले आफूले लिन लागेको एक्सनमा साथ दिन आग्रह गरे । माओवादी पार्टीका विभिन्न नेता तथा अहिलेको मन्त्रीपरिषदकै एक जना मन्त्रीको समेत सुन तस्करीमा नाम मुछिएर समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले कसैलाई छाड्न नहुने बताउँदै प्रधानमन्त्रीलाई कन्भिन्स गरेको बुझिएको छ । तर, गृहमन्त्री लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मिहिन ढंगले बुझेर मात्रै अघि बढ्न भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेटेर गृहमन्त्री लामिछानेले पक्राउ गर्नुपर्ने सम्भावित व्यक्तिहरुको सूचीका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीसँग भेटे लगत्तै गृहमन्त्री लामिछानेले नेपाल प्रहरीका आइजीपीदेखिलिएर गृहसचिवसँग पनि छलफल गरेका छन् । अब तत्कालै एक्सनमा उत्रनुपर्ने अवस्था आएको भन्दै उनले आइजीपी र गृहसचिवलाई हाई अलर्ट अवस्थामा बस्न निर्देशन दिएका छन् । सुन तस्कर विरुद्ध आक्रामक ढंगले अघि बढ्न खोजेका गृहमन्त्री लामिछानेले प्रधानमन्त्री, आइजीपी, गृहसचिव लगाएतसँग छलफल गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि कडा निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल मिटिङ गर्दै लामिछानेले तस्कर र गुण्डा आफूले चिनाइरहन नपर्ने भन्दै तत्काल त्यस्ता व्यक्तिहरुलाई समात्न भनेका छन् । आफूले तिब्र गतिमा काम गर्न खोजेको भन्दै उनले गृहमन्त्रीको गति समात्न नसके परिणति राम्रो नहुने चेतावनी समेत दिएका छन् । सुन तस्करविरुद्ध एक्सन लिने बारेमा गृहमन्त्रीले चाल्न खोजेको स्टेपमा प्रधानमन्त्रीले साथ दिए सम्भवतः अहिलेको सरकारका एक जिम्मेवार मन्त्रीको नै पद चेट हुनेछ । त्यस्तै सुरक्षा निकायकै केही उच्च पदस्थहरु प्रहरी खोरमा जाकिनेछन् ।
गृहमन्त्री लामिछानेले सोचे अनुसार प्रधानमन्त्रीको साथ पाउने हो भने सुन तस्करीको केसले माओवादीका उच्चपदस्थ धेरै नेताहरु र तीनका सन्तानको बास प्रहरी खोरमा हुनेछ । अघिल्लो दिनसम्म स्यालुट हानेका व्यक्तिका हातमा गृहमन्त्री रवि लामिछानेले हत्कडी लगाउँन आदेश दिनेछन् । गृहमन्त्री लामिछानेले तस्कर र गुण्डाहरुका विषयमा जतिसुकै हाइप्रोफाइलको भएपनि एक्सन लिन र कसलाई समातौं कसलाई नसमातौं भनेर आफूसँग नसोध्न समेत यसअघि नै प्रहरीहरुलाई भनिसकेका छन् । गलत काम गर्नेहरुलाई समात्ने विषयमा आफ्नो आदेश नकुर्न भन्दै उनले कानुनका पाना पल्टाएर कानुन अनुसार काम गर्ने प्रहरीलाई आफूले उल्टै स्यालुट गर्ने जानकारी गराइसकेका छन् ।
यता सुन तस्करीका विषयमा माओवादीका हाइ प्रोफाइलका नेताहरुको नाम समेत मुछिएपछि प्रधानमन्त्री प्रचण्ड निकै तनावमा परेका छन् । भर्खरै नियुक्त भएका अर्थमन्त्रीलाई समेत जोडेर नेपाली कांग्रेसले यो विषय बारम्बार सदनमा उठाएपछि प्रधानमन्त्री प्रचण्डलाई संकट परेको हो । प्रचण्डका दाहिने हात मानिने तथा अहिलेको गठबन्धन बनाउँन महत्वपूर्ण भूमिका खेलेका अर्थमन्त्री वर्षमान पुनका विषयमा नेपाली कांग्रेसले सदनमा आवाज उठाइरहेको छ । त्यसो त कांग्रेसले स्वयं गृहमन्त्री रवि लामिछानेका विषयमा पनि दिनहुँ प्रश्न उठाइरहेको छ । सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेका विरुद्ध उजुरी परेको विषय सदनमा उठाउँदै कांग्रेसले यो विषयमा प्रधानमन्त्रीको चित्त बुझ्दो जवाफ मागेको छ । प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सदन अबरोध गर्ने संकेत कांग्रेसले गरिरहेको छ ।