बाबुराम भट्टराईलाई बेवास्ता गर्दै उनका नजिकका सहयात्रीहरुले शनिबार भट्टराई नेतृत्वको पार्टीलाई माओवादीमा मिलाउँने निर्णय गरे । यो निर्णयपछि बाबुराम भट्टराईका साथमा अब उनकी श्रीमति हिसिला यमी, छोरी मानुषी, ज्वाईँ र नजिकका केही मान्छे मात्रै भएका छन् । २०७२ असोज ९ गते माओवादी पार्टी परित्याग गरेयता बाबुराम भट्टराईको राजनीतिक जीवनमा आएको यो सबैभन्दा ठूलो झड्का हुनुपर्छ । र, उनलाई लागेको यो झड्कासँगै यतिबेला धेरैमा कौतुहलता पनि जागेको छ, अब बाबुराम भट्टराईले के गर्लान् भन्ने कौतुहलता ।
कुनैबेला राष्ट्रिय राजनीतिमा बाबुराम भट्टराईको क्रेज सामान्य थिएन । अहिलेका बालेन शाह र रवि लामिछानेहरुको जुन प्रकारको क्रेज छ त्यो भन्दा निकै ठूलो क्रेज थियो डा. बाबुराम भट्टराईको । जसरी बालेनले लगाएको चस्मा केही समय ब्राण्ड बन्यो त्यसैगरी उतिबेला बाबुराम भट्टराईले लगाएको टोपी पनि ब्राण्ड बनेका थियो । शसष्त्र युद्धबाट शान्ति प्रकृयामा आउँदा बाबुराम भट्टराई धेरैका लागि आशाको केन्द्र बनेका थिए । राजनीतिप्रति जनताको वितृष्णा बढेका बेला , पढेलेखेका मान्छेले राजनीतिलाई फोहोरी खेल भनिरहेका बेला एसएलसी बोर्ड टपर त्यो पनि पिएचडी गरेको मान्छे जसको बुद्धिले देश बन्छ भन्ने धेरैलाई थियो । जब उनी पहिलोपटक अर्थमन्त्री भए उनको वाहवाही असाधारण भयो । बाबुरामलाई काम गर्न देउ भन्ने नारा नै सडकमा लाग्यो । बाबुरामका विषयमा थोरै मात्रै कोही कसैले नेगेटिभ कुरा गर्नै हुँदैनथ्यो । उनका फ्यान फलोअर्सले काँचै खाऔंला झैं गर्थे । एक हिसाबले भन्ने हो भने बाबुराम भट्टराईलाई राजनीतिक देउताकै रुपमा चित्रित गरिएको थियो । उनी जब प्रधानमन्त्री भए, शुरुवाती दिनमा वाहवाहीको लेबल असामान्य भयो । उनले चढेको गाडी मुस्ताङ ब्राण्ड बन्यो । प्रधानमन्त्री बन्दा राजनीतिक देउताका रुपमा हेरिएका बाबुराम त्यहाँबाट बाहिरिँदै गर्दा सबैभन्दा धेरै आलोचनाका पात्र बने ।
संविधान घोषणापछि २०७२ असोज ९ गते जब एकाएक उनले माओवादी पार्टीलाई भत्किएको घरको संज्ञा दिँदै पार्टी परित्यागको घोषणा गरे । त्यसले नेपाली राजनीतिमा नसोचेको तरग ल्याइदियो । माओवादीप्रति जनताको वितृष्णा पैदा भएका बेला माओवादीलाई नै गलत भनिदिएपछि फेरि उनका प्रशंसक बढे । माओवादी परित्याग गरेपछि नेपालमा वैकल्पिक राजनीतिक दलको आवश्यकता रहेको भन्दै उनले आँखा चुनाव चिन्ह लिएर नयाँ शक्ति पार्टी खोले । तर, त्यो आँखाले काम गरेन । त्यसपछि बाबुरामले जातिय र क्षेत्रिय राजनीतिको हाँगो समाते । उनी उपेन्द्र यादव नेतृत्वको तराई मधेश केन्द्रित दल जसपातिर लागे । तर, उपेन्द्र यादवसँग उनको जोडा राम्रोसँग जम्न सकेन । जसपासँग छुट्टिएर अलग्गै दल नेसपा खोले । तर, त्यो दलले पनि राजनीतिक प्रगति गर्न सकेन ।
यता उता जता लाग्दापनि नभएपछि पार्टीलाई माओवादीमै मिसाउँने निर्णयमा बाबुराम पुगे । तर, त्यसका लागि उनले सर्त राखे माओवादी पार्टीको नाम फेर्नुपर्ने सर्त । गत वर्ष भएको चुनावको केही महिनाअघितिरको कुरा थियो त्यो । माओवादी पनि संकटमै परेको बेला भएका कारण प्रचण्डले मुण्टो हल्लाइदिए । बाबुरामले प्रचण्डको मुण्टो हल्लाइको खुसीमा प्रचण्डका लागि आफ्नै निर्वाचन क्षेत्र छाडिदिए । गोरखा २ प्रचण्डका लागि बाबुराम भट्टराईले छाडेनन् मात्रै प्रचण्डको चुनावी कमाण्डर नै बनेर बाबुराम भट्टराई चुनावी प्रचार प्रसारमा खटिए । प्रचण्डलाई जिताउँने एक सूत्रिय एजेण्डा थियो त्यतिबेला बाबुरामको । उनी त्यसमा सफल पनि भए । तर, जब प्रचण्डले चुनाव जिते । तब बाबुरामलाई उनले गन्न छाडिदिए । बरु उल्टै बाबुरामलाई एक्ल्याउँदै बाबुरामकै पार्टी निलिदिने योजनामा लागे । प्रचण्डले बाबुरामसँग खोँचे थापे, साथीहरुले माओवादी पार्टीको नाम फेर्न मानेनन् । मिल्ने भए माओवादी नाममै सहमत हुनूस् । तर, विचार र दृष्टिकोणमा अडिग बाबुराम माओवादी नाममा सहमत भएनन् । अन्ततः उनी एक्लो पारिए । र, प्रचण्डले बाबुरामको पार्टीलाई निल्नेगरी शनिबार नेसपासँग पार्टी एकताको औपचारिक हस्ताक्षर गर्न लगाए । अब एक्लिएका बाबुरामसँग थोरै विकल्प मात्रै छन् । उनैको नेतृत्वमा पार्टी खोल्दा त्यो सफल हुन्छ भन्ने उनलाई पनि लागेको छैन । त्यसैले सुनिन्छ उनी भित्रभित्रै रवि लामिछाने नेतृत्वको पार्टीसँग कुरा गर्ने सुरमा छन् । वैकल्पिक राजनीतिको इच्छा आफूमा पनि भएरै उतिबेला माओवादी परित्याग गरेका कारण वैकल्पिक राजनीतिक दलका रुपमा हेरिएको रास्वपामा लाग्दा राम्रै हुन्छ भन्ने उनको बुझाई छ । तर, रवि लामिछाने नेतृत्वको दलले उनलाई पार्टीमा भित्रयाउँन चाहन्छ या चाहँदैन त्यो यसै भन्न सकिन्नँ । बाबुराम भट्टराईसँग अर्को विकल्प भनेको केही समय त्यत्तिकै बस्ने र फेस सेभिङ हुनेगरी प्रचण्डसँग आग्रह गर्दै प्रचण्डकै पार्टीमा जाने । अर्को विकल्प भनेको बुढेसकालमा अब राजनीतिको इच्छै नगर्ने । घरमै नाति नातिनासँग खेल्ने, बस्ने र रमाइलो गर्ने । ् बाबुराम भट्टराईका विकल्प यीनै हुन् यतिबेला ।