गृहमन्त्री बने लगत्तै आक्रामक रुपमा प्रस्तुत भएका रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझ आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार सुन प्रकरणमा माओवादी नेताहरुको नाम धेरै देखिएपछि फायल बोकेर प्रधानमन्त्री प्रचण्डकोमा पुगेका लामिछानेलाई प्रचण्डले भ्रष्टहरुलाई कारबाही गर्ने मामलामा आफूसँग सोधिराख्न नपर्ने बताएका हुन् । भ्रष्ट, तस्कर र माफिया जुनसुकै पार्टीको भएपनि त्यस्तालाई ठाउँको ठाउँ कारबाही गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले फायल बोकेर आफ्नोमा आइराख्न नपर्ने कुरा गृहमन्त्री लामिछानेलाई बताएका छन् । फायल बोकेर लामिछाने प्रधानमन्त्रीकोमा गएकोबारे गृहमन्त्रालय स्रोतले भन्यो ः तपाईँ जत्तिको मान्छे यसलाई के गरौं त्यसलाई के गरौं भन्दै लुरुलुरु फायल बोकेर मेरोमा आउँने होइन । यस्तो विषयमा मलाई एक शब्द पनि सोध्नै पर्दैन । तपाईले तत्काल एक्सन लिइहाले हुन्छ, ठोकिहाल्नुस् । तपाईँको धेरै भेट मसँग होइन बरु आइजीपीसँग होस् भन्ने म चाहन्छु ।
सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लगाएत माओवादीका नेताहरुको संलग्नता रहेको प्रतिवेदन जाँचबुझ आयोगबाट बुझेपछि गृहमन्त्री लामिछाने अब के गरौं भन्दै प्रधानमन्त्रीलाई भेट्न गएका थिए । तर, प्रधानमन्त्रीले गृहमन्त्रीको उक्त शैली मन पराएनन् । बरु उनले तपाईँलाई के गर्ने कसो गर्ने भन्ने लागेको छ भने म मन्त्रीपरिषदबाटै निर्णय गराउँछु अल्मलमा नपर्नुस् काम चाहिँ गरिहाल्नुस् भनेर जवाफ दिए । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई मैले तपाईबाट सिधै एक्सनको मात्र अपेक्षा गरेको छु मेरो हुटहुटी बुझ्नुहोला भनेका थिए ।
प्रधानमन्त्रीले तत्काल एक्सनमा उत्रिन निर्देशन दिएपछि गृहमन्त्री लामिछाने संसद पुगेका थिए । संसदबाट बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा जो कोही भएपनि आफूले नछाड्ने बताएका थिए ।
गृहमन्त्रीले यो प्रतिबद्धता जनाएकै साँझ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका थिए । दीपेश पुनदेखि सुन तस्करी प्रकरणमा जोडिएका जो कोहीलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट निर्देशन दिएपछि गृहमन्त्री लामिछाने उत्साहित भएका छन् भने अरुलाई पनि चाँडै पक्राउ गर्ने योजनामा उनी छन् । प्रधानमन्त्रीले यो मामलामा गृहमन्त्रीलाई अलमल नहोस् भनेर मन्त्रीपरिषदबाटै सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन अक्षरसः पालना गर्ने निर्णय गराइसकेका छन् । गृहमन्त्रीलाई जतिसक्दो सजिलो बनाइदिने र सुशासनको मामलामा आफू नेतृत्वको सरकार अडिग छ भन्ने सन्देश जनताले दिने ध्याउन्नमा प्रधानमन्त्री प्रचण्ड देखिन्छन् । अरु पार्टीका नेताबाट पक्राउ अभियान शुरु गर्दा आफ्नालाई जोगाउँन खोज्यो भन्ने भ्रम जनतामा जान सक्ने भएकाले सबैभन्दा पहिला आफ्नै पार्टीका नेताबाट शुरु गर्ने प्रधानमन्त्री प्रचण्डको रणनीति रहेकाले सोही बमोजिम गृहमन्त्रीलाई निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउनुको उदेश्य नै सुशासनका लागि भएको बताउँदै आएका छन् । सुशासनका मामलामा आफूले कुनै सम्झौता नगर्ने प्रचण्डको भनाई छ । उनले आफ्नो त्यही हुटहुटी बुझेर अघि बढ्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् भने गृहमन्त्री रवि लामिछाने नेतृत्वको दल रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले पनि संसद बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने समयमा प्रचण्डको प्रशंसा गर्दै प्रधानमन्त्रीको हुटहुटी भन्ने शब्द बारम्बार प्रयोग गरेका थिए ।