कालीकोटको सामुदायिक वनमा लागेको आगोमा परि घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको छ । चौलागाईंको उपचारका क्रममा आइतबार दिउँसो प्रदेशअस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा हेमन्ती र उनका बुबा नन्दराम आगोले जिलेर गम्भिर घाइते भएका थिए ।
प्रहरीका अनुसार शुक्रवार बाख्रा चराउन गएका बाबुछोरी वनमा आगो लागेपछि आगो निभाउन गएका थिए । घाइते बाबु–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको थियोे । जुम्लामा पनि उपचार सम्भव नभएपछि दुवै जनालाई सुर्खेत लगिएको थियो ।
हेमन्तीको ७० प्रतिशत शरीर जलेको डाक्टरले बताएका छन् । हेमन्तीका बुबा नन्दरामको भने सुर्खेतमै उपचार भइरहेको छ । यसैगरी आगोले जलेर नन्दरामका ४३ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।