Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

रविको निशानामा विनोद चौधरी


पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेर वाहवाही कमाएका गृहमन्त्री रवि लामिछानेको निशानामा यतिबेला अर्बपति विनोद चौधरी परेका छन् । बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा विनोद चौधरीलाई यसअघि उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेका बेला रवि लामिछाने गृहमन्त्री भएलगत्तै उक्त प्रकरणको फायल फेरि खोलिएको छ । गृहमन्त्री बन्नुअघि रवि लामिछानेले विनोद चौधरीको विषय संसदमा जोडतोडका साथ उठाएका थिए । विनोद चौधरीमाथि किन अनुसन्धान गरिएन भन्दै उनले संसदीय समितिहरुमा समेत बारम्बार प्रश्न उठाउने गरेका थिए ।

रवि लामिछाने गृहमन्त्री बने लगत्तै बाँसबारी छाला जुत्ता जग्गा प्रकरणको फायल फेरि खोलिने अनुमान गरिएको थियो । सोही अनुमानकाबीचमा गृहमन्त्री लामिछानेले आइतबार प्रहरी प्रमुखलाई बोलाएर तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा जोडेर राजीनामाकै माग गरिरहेका बेला गृहमन्त्री लामिछानेले कांग्रेस सांसद समेत रहेका अर्बपति विनोद चौधरीमाथि एक्सन लिन लागेको विषयलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि अर्बपति विनोद चौधरीका भाई अरुण चौधरी बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परेका थिए । केहीदिनको हिरासत बसाईपछि अरुण चौधरी रिहा भएपनि अहिलेका गृहमन्त्री रवि लामिछानेले भने संसदीय समितिीहरुमा यसप्रति व्यापक असन्तुष्टी पोख्ने गरेका थिए । पैसा र पहुँचका भरमा चौधरीहरुमाथि अनुसन्धान नगरिएको भन्दै उनले यो प्रश्न बारम्बार उठाएका थिए ।

गृहमन्त्री बनेलगत्तै लामिछानेले बाँसबारी छाला जुत्ता जग्गा प्रकरणको फायल फेरि खोलेपछि यसले राजनीतिक वृत्तमा भुकम्प जाने देखिएको छ भने पहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठेको छ । पूर्व गृहमन्त्री ताथ अहिलेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री छँदा किन चौधरी परिवारमाथि राम्रोसँग अनुसन्धान गर्न लगाएनन् भन्ने प्रश्न उठेको हो । यस्तै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरादेखि लिएर सुन तस्करीमा जोडिएको भन्दै समाचार आइरहेका कृष्णबहादुर महरा सम्मका नेताहरुमाथि पूर्व गृहमन्त्री नाायणकाजी श्रेष्ठले उतिबेला उन्मुक्ति दिन खोजेकै थिए त भन्ने प्रश्न पनि यतिबेला उब्जिएको छ । सार्वजनिक सञ्चार माध्यममा पूर्वउपराष्ट्रपति पुनका छोरा, पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा लगाएतमाथि उनले उतिबेला किन अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएनन् भन्ने प्रश्न यतिबेला राजनीतिक बजारमा उठेको छ । उतिबेला राम्रोसँग अनुसन्धान गर्न नारायणकाजी श्रेष्ठलाई के ले रोकेको थियो भन्ने कुरालाई नाजायज प्रश्न पनि भन्न मिल्दैन । उतिबेला अधुरो र अपुरो अनुसन्धान भएकै हो भने सो प्रश्नको जवाफ नारायणकाजी श्रेष्ठले दिनुपर्छ । किन अधुरो र अपुरो अनुसन्धान गरियो र आफ्नालाई चोख्याउन खोजियो भन्ने प्रश्न यतिबेला नारायणकाजी श्रेष्ठमाथि तेर्सिएको सबैभन्दा अहम् प्रश्न हो ।

सुन तस्करी प्रकरणमा राम्रोसँग अनुसन्धान हुन नसकेको भनेर अहिलेका गृहमन्त्रीले फेरि फायल पल्टाउने स्थिती आउँदा स्वभाविक रुपमा यसअघि गृहमन्त्रालयको कमाण्ड सम्हालेका नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको छ । नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको कमाण्ड सम्हाल्दाका बखत सुन तस्करी प्रकरणमा सिआइबी प्रमुखले राम्रोसँग अनुसन्धान नगरेको भनेर उनीमाथि विभागीय कारबाही गरिँदा नारायणकाजी श्रेष्ठ भने पुरस्कृत हुनुलाई अनौठो रुपमा हेरिएको छ । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले परराष्ट्रमन्त्री बनाएका छन् । जबकी यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको गृहमन्त्रालयले धेरैलाई उन्मुक्ति दिएको देखिएको भन्दै अहिलेका गृहमन्त्री रवि लामिछानेले धमाधम फायल पल्टाउनु परिरहेको छ । विनोद चौधरीदेखि लिएर कृष्णबहादुर महरा सम्मका विषयमा अनुसन्धान अघि बढाउनुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार