गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई चार वर्ष सम्म संसद अबरुद्ध गरेर देखाउँन चुनौती दिएका छन् । गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै लामिछानेको राजीनामाको माग गर्दै संसद अबरोध गर्ने चेतावनी दिएको कांग्रेसलाई गृहमन्त्री लामिछानेले चार वर्ष संसद अबरोध गरेर बस्न चुनौती दिएका हुन् । अहिलेको गठबन्धनले खुरुखुरु काम गर्ने भन्दै लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको बताए ।
संसद बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले ठाडो उजुरीका भरमा कोही कसैले राजीनामा दिनुपर्ने नजिर नेपाली कांग्रेसले स्थापित गर्न खोजेको भए त्यसले नेपाली कांग्रेसलाई नै अप्ठ्यारो पार्ने बताए । सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै गृहमन्त्री लामिछानेले आफ्नो ध्यान देशमा सुशासन कायम गर्नमा केन्द्रीत हुने बताए । ठूला माछा समात्ने क्रम शुरु भएको भन्दै लामिछानेले आफ्नो राजीनामा माग्दै संसद अबरोध गर्नुभन्दा राम्रा काम गर्न सल्लाह दिए ।