Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

गृहमन्त्री लामिछानेका पक्षमा ओली, भने : संसदीय समिति बन्दैन


गृहमन्त्री रवि लामिछानेका पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दह्रो रुपमा प्रस्तुत गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान लिइरहेका बेला एमाले अध्यक्ष ओलीले समिति नबाइने बताए । मंगलबार संसद बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले लामिछानेको राजीनामा माग गरेर कांग्रेसले अपरिपक्वता प्रदर्शन गरेको दाबी गरे । कांग्रेसको ताल देखेर आफू छक्क परेको भन्दै अध्यक्ष ओलीले कांग्रेस प्रतिपक्षमा बस्नुपरेको पीडाका रुपमा आफूले यो विषयलाई लिएको बताए ।

यसअघि गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसलाई आउँदो चार वर्ष सम्म संसद अबरुद्ध गरेर बस्न चुनौती दिएका थिए । संसद बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले आफू ज जसले जे जे भनेपनि खुरुखुरु काम गर्ने भन्दै कांग्रेसलाई चार वर्ष संसद अबरुद्ध गरेर बस्न चुनौती दिएका हुन् ।
ठाडो उजुरीका भरमा कोही कसैले राजीनामा दिनुपर्ने नजिर नेपाली कांग्रेसले स्थापित गर्न खोजेको भए त्यसले नेपाली कांग्रेसलाई नै अप्ठ्यारो पार्ने उनको भनाई थियो । सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै गृहमन्त्री लामिछानेले आफ्नो ध्यान देशमा सुशासन कायम गर्न र ठूला माछा समात्नमा केन्द्रीत रहेको बताए । त्यसअघि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको भन्दै गृहमन्त्रीले राजीनामा नदिने बताएका थिए । कांग्रेसले गृहमन्त्रीको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री दाहालले कांग्रेसलाई झिनामसिना कुरामा नअल्झिन सुझाव समेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार