Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

कहाँ छिन् आरजु राणा ?


केहीदिनयता नेपाली कांग्रेसकी नेतृ तथा सांसद आरजु राणा देउवा संसद बैठकमा देखिएकी छैनन् । संसद बैठकमा विनियोजन विधेयकमाथिको छलफल दिनहुँ चलिरहेको छ । तर, ती कुनैपनि छलफल र केहीदिनयताका बैठकमा उनी नदेखिएपछि उनका विषयमा धेरैले चासो गरिरहेका छन् । हुन त आरजु राणा मात्रै होइन संसद बैठकहरुमा अरु धेरै सांसदहरु पनि देखिएका छैनन् । यद्यपि नयाँ सत्ता समिकरण बनिसकेपछि संसद बैठकमा आरजु राणाको अनुपस्थितीको विषयलाई लिएर भने धेरैको चासो बढेको छ ।

गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भइसकेपछि विभिन्न प्रकरणका फाइल एकपछि अर्को गर्दै धमाधम खोलिँदै गर्दा संसद बैठकमा आरजु राणाको अनुपस्थितीलाई विशेष चासोका साथ हेरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि आरजु राणाको नाम पनि जोडेर समाचारहरु आएका थिए । ती समाचारका आधारमा उनी पनि अनुसन्धानको दायरामा तानिन सक्ने अनुमान गरिएका बेला संसद बैठकमा आरजु राणा नदेखिएपछि भने यसले धेरैमा उनीप्रतिको कौतुहलता बढाएको छ ।

संसद बैठकमा नदेखिएकी आरजु राणा कहाँ छिन् भन्ने कौतुहलताका बीचमा उनी केहीदिन अघि मात्रै भारत तर्फ लागेको बुझिएको छ । गएको चैत २ गते साँझ उनी भारततर्फ गएको बुझिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएको पर्सीपल्ट आरजु राणा देउवा नयाँ दिल्ली हानिएकी थिइन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर यु के १५६ बाट अपरान्ह ५ बजे नयाँ दिल्ली उडेकी थिइन् । नयाँ दिल्ली गएकी राणा नेपाल फर्किएको भन्ने सुनिएको छैन । उनी दिल्लीमै छिन् या दिल्लीबाट अन्यत्र कतै गइन् भन्ने जानकारी सार्वजनिक भएको छैन ।

आरजु राणाको दिल्ली आवतजावत सामान्य भएपनि यसपटकको दिल्ली यात्रालाई भने राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । नयाँ गृहमन्त्रीले विभिन्न प्रकरणका फायलहरु धमाधम पल्टाउने बताउनु र कांग्रेस नेतृ आरजु राणा यही समयमा दिल्ली जानुलाई कतिपयले भने संयोगका रुपमा लिएका छन् । हरेक कुरालाई नकारात्मक नजरले हेर्न नहुने भन्दै उनीहरुले आरजु राणा केहीदिनमा नै संसदमा देखा पर्ने दाबी समेत गरेका छन् । कांग्रेस नेतृ आरजु राणा यसअघि गएको फागुन १७ गते पनि दिल्ली गएकी थिइन् । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मार्फत दिल्ली गएकी राणा २२ गते साँझ नेपाल फर्किएकी थिइन् । उनी नेपाल फर्किएकै दिन यता भने गठबन्धनमा परिवर्तन आएको थियो । गठबन्धनमा एकाएक आएको परिवर्तनले उनलाई मात्रै नभई धेरैलाई आश्चर्यचकित बनाएको थियो । यद्यपि बनेको नयाँ गठबन्धन भत्काउनका लागि आरजु राणाको पहलमा ठूलो कसरत भएको थियो । आफ्ना पति समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सहित आरजु राणा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गर्दै माधवकुमार नेपालको घरमा पुगेकी थिइन् भने जसपा, रास्वपा लगाएतका नेताहरुसँग पनि नयाँ गठबन्धन भत्काउने विषयमा उनको छलफल भएको थियो । तर, छलफलले सार्थकता लिन भने सकेन । अन्तिम समय सम्म नयाँ गठबन्धन भत्काउन लागिपर्दा समेत सफल नभएपछि आरजु राणा पारिवारिक कामका लागि भन्दै चैत्र २ गते दिल्ली गएकी हुन् । दिल्लीमा कस्तो पारिवारिक काम भन्ने विषयमा भने केही खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार