नेपाली कांंग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरी श्रीलंकातिर लागेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा सिआइबीले बयान लिएकै दिन चौधरी श्रीलंकातर्फ उडेका हुन् । चौधरीलाई बिहिबार बिहान ८ बजे सिआइबीले सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो भने बयान दिएपछि उनी दिउँसो करिब २ बजे श्रीलंका उडेका थिए । प्राप्त जानकारी अनुसार विनोद चौधरी दिउँसो १ः५७ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
चौधरी व्यवसायिक कामका सिलसिलामा श्रीलंका गएको चौधरी निकट स्रोतले जनाएको छ । यद्यपि कतिपयले भने उनी सिआइबीले बयान लिएपछि चौधरी आत्तिउको र फ्रेस हुने हिसाबले श्रीलंका गएको हुन सक्ने बताएका छन् । बिहान कार्यालय समय अगावै सरकारी वकिलको कार्यालयमा बयानका लागि पुगेका चौधरीले गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै स्टन्टवाजहरुलाई आफूले नैतिकताको प्रमाणपत्र देखाउँन आवश्यक नभएको बताएका थिए । सिआइबीलाई बयान दिएर बाहिरिने क्रममा विनोद चौधरीले पत्रकारहरुलाई भनेको कुरा यस्तो थियो :
हिजो गोप्य पत्रको नाममा संसद्लाई जानकारी दिँदा म संसदमै थिएँ । संसदमा हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभर देशभरका सबै सञ्चारमाध्यमहरु रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्नेकुरा स्पष्ट भएको स्थिति छ ।
मैले यो विषयमा कुरा उठ्नेबित्तिकै मेरो भाइमाथिको अनुसन्धान शुरु हुने बित्तिकै दलको बैठकमा आफ्ना संक्षिप्त कुराहरु राखेँ । जुन पब्लिकली बाहिर आए । म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानून बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरु राखेँ ।
मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ । ४२ वर्षअघिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्नेकुरा सबैले बुझेका छन्, नेपालभर ।
यो देशकै एकमात्र हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रुपले मुलुकभर नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभर नै र हाम्रो विभिन्न परियोजना गर्ने रुपले यो १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज बाहेक केही पनि होइन । मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचार र राजनीतिक कर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरेँ ।
मैले कहिले पनि दलगत राजनीतिको पक्षमा अकारण र गलत प्रवृत्तिलाई कहिले पनि दलहरुका बीचका आपसी मतभेद, जोडघटाउमा सरिक भइन । त्यस हिसावले आफूलाई प्रोफेसन र विकासप्रेमीको हैसियतले फोरममा उभ्याएँ । तर आज यो इस्युमा भने राजनीति गर्ने, राजनीतिकरण गर्ने, उद्यमलाई राजनीति गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने कुरा स्पष्टसँग देखियो । अहिले अत्यन्त कठिन परिस्थिति भएर गुज्रिरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यि कुराहरु रोज आउने गर्दछन् ।
यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरका र विश्वभर रहेका नेपालका युवाहरुले, नेपालका उद्यमीहरुले रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने हो ।
मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरुलाई । म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन ।