
गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी रमेश खरेलको सम्बन्ध यतिबेला अत्यन्तै तितो बनेको छ । रवि लामिछाने खरेलको नाम सम्म सुन्न चाहँदैनन् भने रमेश खरेल रवि लामिछानेको व्यापक आलोचना गर्ने गर्छन् । रवि लामिछाने गृहमन्त्री बनेपछि पछिल्लोपटक त रमेश खरेलले रवि लामिछानेलाई लोभीपापी भन्न समेत भ्याएका छन् । रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै उनले कन्फ्लिक्ट अफ इन्ट्रेष्ट हुनेगरी लामिछाने गृहमन्त्री बन्नुलाई लोभीपापीको संज्ञा दिएका हुन् । खरेलले आफू लामिछाने र रास्वपासँग अहिले नरहेको भन्दै लोभीपापीहरुलाई चिनेपछि आफू त्यहाँबाट बाहिरिएको जनाएका छन् ।
तर, अघिल्लो वर्ष ठिक यतिबेला अहिलेका गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी रमेश खरेलको सम्बन्ध असाध्यै राम्रो थियो । एक अर्काको प्रशंसामा यी दुईले व्यक्त गरेका शब्दलाई एकैठाउँमा राख्ने हो भने एउटा पुस्तकको ठेली नै बन्छ । सम्बन्ध यति सम्म राम्रो थियो कि रवि लामिछाने र रमेश खरेलले एक अर्कालाई गृहमन्त्री र भावी प्रधानमन्त्री भन्न भ्याएका थिए । सम्बन्ध राम्रो भएकै कारण हो, रास्वपामा अन्य थुप्रै नेताहरु हुँदाहुँदै पनि रवि लामिछानेले रमेश खरेललाई बाराबाट चुनाव लड्नेगरी टिकट दिए । जबकी त्यतिबेला रमेश खरेलको आफ्नो छुट्टै दल थियो । नेपाल सुशासन पार्टी नाम गरेको दल । गत वर्ष मंसिरमा भएको चुनावमा आफ्नै पार्टीबाट काठमाडौं १ मा चुनाव लडेर हारेका खरेल रवि लामिछानेले बाराबाट उपनिर्वाचनमा टिकेट दिने भन्ने बित्तिकै नेपाल सुशासन पार्टी अलपत्र पारेर रवि लामिछानेका पछि लागेका थिए । उनले टिकेट पनि पाए तर, चुनावको नतिजा आउँदा भने रमेश खरेलको जमानत नै जफत भइदियो । उपनिर्वाचनमा लडेका अन्य दुई जना रास्वपाका नेता रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले सानदार जित हात पार्दै गर्दा रमेश खरेलले लज्जाजनक हार बेहोरेपछि स्वभाविक रुपमा उनी रन्थनिएका थिए । उनलाई आशा थियो, निर्वाचनमा पराजय बेहोरेपनि रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र आफूलाई कुनै सम्मानजक पद दिन्छन् भन्ने ।
उपनिर्वाचनमा जानुअघि रवि लामिछाने र रमेश खरेलबीच रास्वपा र नेपाल सुशासन पार्टीबीच उपनिर्वाचन लगत्तै एकीकरण गर्ने भन्ने सहमति भएको थियो । तर, उपर्विाचन सकिएपछि लामिछानेले उपनिर्वाचनमा लज्जाजनक हार बेहोरेका रमेश खरेललाई भाउ दिएनन् । उपनिर्वाचनअघि पार्टी एकताको मौखिक सहमति गरेपनि त्यो सहमति अनुसार अघि बढ्न आवश्यक ठानेनन् । यहिँबाट रमेश खरेल रवि लामिछानेसँग बिच्किएका थिए । आफूले स्थापना गरेको पार्टी नेपाल सुशासन पार्टीसँग एकता गर्न समेत रवि लामिछानेले नमानेपछि रमेश खरेल लामिछानेसँग रुष्ट बनेका हुन् । पार्टीमा सम्मानजनक पद पनि नदिने र पार्टी एकता गर्न पनि नमान्ने भएपछि लामिछानेलाई केही महिनाअघि नै रमेश खरेलले तपाईँसँग मेरो कुरा मिल्ला जस्तो छैन भनेका थिए । तर, लामिछानेले भने रमेश खरेललाई पार्टीको केन्द्रीय सदस्य बनेर पार्टीमा काम गर्न सुझाव दिएका थिए । आफूलाई मात्रै पार्टीको केन्द्रीय सदस्य बन्दा सुशासन पार्टीमा रहेर काम गरेका साथीहरुको मानमर्दन हुने भन्दै उनले कम्तीमा पनि आफ्ना तर्फबाट ७ जनालाई केन्द्रीय सदस्य बनाउँन भनेका थिए । तर, रमेश खरेलको आग्रह रवि लामिछानेले सुनेनन् । महोत्तरीको जलेश्वरमा भएको रास्वपाको बैठकबाट लामिछानेले खरेललाई केन्द्रीय सदस्यका लागि पुनः प्रस्ताव गरे । तर, एक्लै केन्द्रीय सदस्य नबन्ने अडान रमेश खरेलले लिए । उनको सोही अडानका कारण रमेश खरेलको नाम केन्द्रीय सदस्यमा राखिएन । केही समय रमेश खरेल रास्वपाको साधारण सदस्यका रुपमा नै रहे । तै रवि लामिछानेले पार्टी एकता गरेर नेपाल सुशासन पार्टीका अन्य साथीहरुको पनि सम्मान गर्छन् कि भन्ने आशमा उनी साधारण सदस्यकै रुपमा रास्वपामा बसे । तर, रवि लामिछानेले महामन्त्री मुकुल ढकाल मार्फत रमेश खरेललाई कागजी अस्तित्वमा मात्रै भएका पार्टीसँग एकता नगर्ने भन्न लगाएपछि भने रमेश खरेलको मन नराम्रोसँग कुँडियो ।
अपमानित तबरले रास्वपामा रहनुभन्दा बरु निष्क्रिय रहनु नै उनले उत्तम ठाने । नेपाल सुशासन पार्टीमा फेरि सक्रिय रहनेगरी फर्कन पनि सकेनन् । बरु उनले अर्को बाटो अपनाए । रवि लामिछाने राजनीतिमा आउनुअघिको बाटो । एउटा टेलिभिजन कार्यक्रम शुरु गरे रमेश खरेलले । अनि उतिबेला रवि लामिछाने जसरी घोक्रो फुट्ला झैं गरी टेलभिजनका स्क्रिनमा चिच्याउँथे रमेश खरेल पनि त्यसैगरी प्रस्तुत हुन थालेका छन् । अहिले रमेश खरेल एउटा टेलिभिजनको कार्यक्रम प्रस्तोता बनेका छन् । यद्यपि उनले आफू पत्रकार भने बन्न नखोजेको कुरा पहिलो एपीसोडमा नै उल्लेख गरेका थिए । उनको यो शैली पनि रवि लामिछानेकै शैली हो । रवि लामिछानेले पनि टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउँदा आफू पत्रकार नभएको भन्दै सूचना विभागको पास लिन आफूलाई आवश्यक नरहेको बताएका थिए । सूचना विभागको पास लिएर काम गर्नु र स्पष्टिकरणका लागि प्रेस काउन्सिलमा जानु भन्दा बरु सडकमा जुत्ता पोलिस गरेर बस्ने उनको भनाई थियो ।
रवि लामिछानेले जसरी आफूलाई पत्रकार नभएको भन्दै पत्रकारिता गरिरहे र त्यसैको जगमा राजनीतिमा आए ठिक त्यसैगरी रमेश खरेल पनि आफू पत्रकार नभएको भन्दै पत्रकारिता गरिरहेका छन् । र, रवि जस्तै टेलिभिजनकै स्क्रिनमा देखिएर भोलिका दिनमा राजनीतिमा स्थापित हुने सोचमा छन् ।