२६ जना पर्यटक सवार बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिबार बिहान दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते भएका छन्।
पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस बिहान साढे ६ बजेतिर सडकछेउमा पल्टिँदा ६ चिनिया पर्यटक घाइते भएका हुन्।
५० वर्षीय सुन ली, ५७ वर्षीया हुक्सिया ली, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





