
पाल्पामा पँधेरामा नुहाउन गएकी १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो ।
मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् ।
दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए ।
स्थानियका अनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रहरीका अनुसार उनको घाँटी र हातका औलाहरू काटिएका छन् । घटनाको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बुधबार बिहानबाट अनुसन्धान सुरू गरिएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको बीभत्स हत्याको तत्काल छानविन गरि अपराधीलाई कारबाहीको माग गरेका छन् ।