Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

रविको नाम लिनै डराए ज्ञानेन्द्र शाही : सहकारी प्रकरणमा घुमाउरो स्टाटस


रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भन्दै आइजीपी वसन्त कुँवरले संसदीय समितिमा सफाइ दिएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरी प्रमुखमाथि खनिएका छन् । नेपाल प्रहरीका महानिरिक्षकज्यूहरुले कहिले पो सत्य बोल्नुभएको छ र भन्दै उनले विभिन्न प्रकरणका उदाहरणहरु समेत प्रस्तुत गरेका छन् । गृहमन्त्री रवि लामिछानेको नाम नलिई उनले रवि लामिछानेका विषयमा प्रहरी महानिरिक्षकले दिएको सफाईप्रति आपत्ति व्यक्त गरेका हुन् । बुधबार मात्रै संसदको राज्य व्यवस्था समितिमा प्रहरी महानिरिक्षक सहित उच्च पदस्थ प्रहरी अधिकारीहरु लिएर पुगेका गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका थिए भने आइजीपी वसन्त कुँवरले पनि रवि लामिछाने संलग्न रहेको कुनै प्रमाण नभेटिएको भन्दै रवि लामिछानेलाई निर्दोष व्यक्ति भनिदिएका थिए । उनको यही भनाईपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लामिछानेको विषयलाई लिएर आइजीपीमाथि खनिएका हुन् । ज्ञानेन्द्र शाहीले यो विषयमा लेखेको स्टाटस यस्तो छ :

नेपाल प्रहरीका महानिरिक्षकज्युहरुले कहिले पो सत्य बोल्नु भाको छ र अब बोल्नु हुन्छ ? भनेर बिश्वास गर्ने ?
प्रहरी जहिले पनि सत्ताको गुलाम र पुजारी हुन्छ। उदाहरणहरु धेरै छन जस्तै एउटा उदाहरणका लागि ललितानिवास प्रकरणमा पुर्ब प्रधानमन्त्रीज्युहरुको संग्लनता छैन भनेका थिए ,अर्को उदाहरण चिनियाँ टेप प्रकरणमा कृष्ण बहादुर महरा दोषी छैनन् भनेका थिए ,तेस्तै ७० करोड अडियो काण्डमा तत्कालीन मन्त्री गोकुल बास्कोटा “दोषी छैनन भनेका थिए तत्कालीन प्रहरी महानिरीक्षकहरुले संसदीय समितिको बैठकमा“ तर रिटायर भएर गएपछि टेलिभिजन इन्टरभिउमा सत्य कुरा बोल्छन त्यसैले प्रहरी महानिरिक्षकको कुरालाई लिएर बादबिबाद गर्नुपर्ने कुनै तुक छैन ।

ज्ञानेन्द्र शाहीको यो स्टाटस सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता छैन भनेर आइजीपी वसन्त कुँवरले दिएको सफाई लक्षित स्टाटस हो भनेर बुझ्न कठिन छैन । तर, ज्ञानेन्द्र शाही आफ्नो स्टाटसमा गृहमन्त्री रवि लामिछाने र सहकारी प्रकरणका विषयमा सिधै लेख्न भने हच्किएका छन् । सहकारी प्रकरणमा रवि लामिछाने लक्षित स्टाटस लेखेका शाही लामिछानेको नाम लिन भने हच्किनुका पछाडि रवि लामिछानेको लोकप्रियता रहेको धेरैको बुझाई छ । दोस्रोपटक गृहमन्त्री भएका रवि लामिछानेका विषयमा सहकारी प्रकरण जोडेर लेखिएका स्टाटस तथा व्यक्त भएका विचारहरुप्रति आउने कमेन्टहरु निकै आक्रामक हुन्छन् । रवि लामिछानेका विषयमा कोही कसैले नकारात्मक कमेन्ट गर्ने बित्तिकै समर्थकहरुको समुहले सामाजिक सञ्जालमा लखेटन् शुरु गर्छ । त्यही लखेटाईबाट जोगिने उपायका रुपमा ज्ञानेन्द्र शाहीले रवि लामिछानेको नाम नलिएको राजनीतिक वृत्तमा चर्चा छ । यद्यपि लामिछानेको नाम नलिएपनि ज्ञानेन्द्र शाहीको यो स्टाटसमा भने धेरैले शाहीको आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार