Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

टोपबहादुर रायमाझीको स्वास्थ्य अवस्था सुधारोन्मुख


मिनी हर्टअटेक भएपछि जेलबाट अस्पताल लगिएका पूर्वमन्त्री तथा नेकपा एमालेका निलिम्बत सचिव टोपबहादुर रायमाझीको अवस्था सुधारोन्मुख रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन व्यतित गरिरहेका रायमाझीलाई जेलमै मिनी हर्टअटेक भएपछि बुधबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । रायमाझी निकट स्रोतले दिएको जानकारी अनुसार ‘मुटुको चाल अलि कम भएको र रिँगटा लागेपछि उनलाई बुधबार बिहान साढे ८ बजे अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा उनलाई मिनी हर्टअटेक भएको चिकित्सकहरुले बताएका थिए । अस्पताल लगिएको लामो समयसम्म उनको रक्तचापमा समस्या निरन्तर देखिएको थियो । चिकित्सकहरुले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीलाई गत वैशाख ३१ गते आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि शुरुका दिनमा उच्च मनोबलको अवस्थामा नै देखिएपनि केहीदिनपछिबाट भने उनी निराश मुद्रामा देखिने गरेका थिए ।

प्रहरी नियन्त्रणमा रहँदाका बखत शुरुवाती दिनमा उनको फुर्तीफार्तीमा कुनै कमी आएको थिएन । यद्यपि दिन बित्दै जाँदा भने उनी चिन्तित मुद्रामा देखिन थाले । प्रहरी स्रोतका अनुसार रायमाझीले पछिल्ला दिनमा खाना पनि कम खाने र खासै बोलचाल समेत नगर्ने गरेका थिए । केहीदिनयता सञ्चो नभएको बताउँदै आएका रायमाझीले आफू निकटकासँग टाउको दुख्ने रोगले सताउन थाल्यो भन्ने गरेका थिए । बिहिबार बिहान भने एक्कासी उनको मुटुको चालमा नै गडबडी देखिएपछि उनलाई अस्पताल नै भर्ना गरिएको हो ।

रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद समेत थिए । विसं २०३० सालबाट राजनीति सुरु गरेका रायमाझी २०६४ देखि निरन्तर संसदमा रहेका थिए । पहिला तीन पटक माओवादीबाट सांसद बनेका रायमाझी ७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा अर्घाखाँचीबाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । रायमाझी नेपाली कांग्रेसका नेत्री पुष्पा भुसाललाई एक हजार ७३० मतले पछाडि पार्दै निर्वाचित भएका थिए । रायमाझी यसअघि सोही क्षेत्रबाट २०६४, २०७० र २०७४ माओवादीबाट निर्वाचित भएका थिए ।

एमाले र माओवादी एकता भएर बनेको नेकपा फुटेपछि उनले एमाले रोजेका थिए। नक्कली शरणार्थी प्रकरणमा विवादमा परेपछि नेकपा एमालेले उनलाई पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । सुरुमा एमालेले उनको बचाउ गर्न खोजेको भए पनि पार्टी सचिवालयको बैठकले पछि उनलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धान गर्न निर्देशन पनि दिएको थियो ।

माओवादी पार्टीमा हुँदा उनी नेता बाबुराम भट्टराईसँग निकट मानिन्थे । तर दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि भट्टराईले पार्टी परित्याग गर्दा रायमाझी माओवादीमै बसे ।
रायमाझी द्वन्द्वकालमा तत्कालीन शाही सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीमा सदस्य पनि थिए ।

उनले विभिन्न समयमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेका थिए । अठार वर्ष भूमिगत राजनीति गरेको बताउने रायमाझी माओवादीको युवा सङ्गठन वाईसीएलका संस्थापक अध्यक्ष थिए ।

पछिल्लो समय भने रायमाझी नेकपा एमालेका सचिव रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार