Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

प्रसाईलाई दिइएको हतियार अनुमतिबारे गृहले बनायो छानबिन समिति


दुर्गा प्रसाईलाई अत्याधुनिक हतियार राख्न दिइएको अनुमतिको विषय यतिबेला गृहमन्त्रालयका लागि टाउको दुखाईको विषय बनेको छ । केहीदिनअघि सर्वोच्चको गेटबाट प्रसाईको हतियार र हतियार बोकेका दुईजनालाई नियन्त्रणमा लिइएपनि सर्वोच्च अदालतले सरकारले नै हतियार बोक्न अनुमति दिएका कारण उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि हतियार सहित पक्राउ परेका प्रसाईका सुरक्षा गार्डहरु रिहा भएका छन् भने दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा तीन सदसीय समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत दुर्गा प्रसार्ईलाई दिइएको हतियारको विषयमा सांसदहरुले गम्भिर प्रश्न उठाएका थिए । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले त प्रसाईको हतियारबाट कोही कसैमाथि आक्रमण भएको भए त्यसको जिम्मेवार को हुन्थ्यो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरेका थिए ।
समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले दुर्गा प्रसाईलाई के आधारमा अत्याधुनिक हतियार राख्ने अनुमति दिइयो भन्नेबारे गृहमन्त्रालयले छानबिन गर्ने बताएका थिए । गृहमन्त्रीको सोही प्रतिबद्धता बमोजिम अहिले गृहमन्त्रालयले छानबिन समिति बनाएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार