प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फेरि शुरू भएको बाक्लो भेटघाटले सत्ता गठबन्धनभित्र चिसो पसेको छ । अझ त्यसमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि उथलपुथल हुन सक्ने बताएपछि त नेपाली राजनीतिमा सानोतिनो भुकम्प नै गएको छ ।
गत वर्ष पुस १० मा बनेको एमाले, रास्वपा सहितको गठबन्धन २ महिना पनि टिक्न मुस्किल भए जस्तै यसपटक पनि त्यस्तै त हुन लागेको होइन भन्ने आशंका पैदा भएको छ । मंगलबार राती कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका प्रधानमन्त्री प्रचण्डले बिहिबार बिहान पनि देउवासँग भेट गरे । पछिल्लो गठबन्धन बनेपछि देउवासँग पहिलोपटक भेटेका प्रचण्डले त्यसको पर्सिपल्ट अर्थात बिहिबार लगत्तै भेट्नुलाई सामान्य रूपमा लिइएको छैन ।
एकातिर इलामको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार तय हुन नसकेको स्थिती अनि अर्कातिर प्रदेश सरकारहरुका विषयमा पनि गठबन्धनभित्र मन मिल्न नसकेका बेलामा प्रचण्ड र देउवाको बारम्बारको भेटले स्वभाविक रुपमा गठबन्धनभित्र तरंग ल्याइदिएको हो । प्रचण्डको अस्थिर राजनीतिक स्वभावका कारण पनि फेरि कांग्रेस र माओवादी मिल्ने त होइनन् भन्ने प्रश्न खडा भएको छ । हुन त आफ्नो राजनीतिक स्वभावलाई प्रचण्डले अस्थिर नभनी छलाङ भन्ने शब्द प्रयोग गर्दै आएका छन् । राष्ट्रियसभाको निर्वाचन नतिजाले एमालेतिर छलाङ हानेका प्रचण्ड इलामको उपनिर्वाचनसँगै फेरि कांग्रेसतिर छलाङ हान्ने त होइनन् भन्ने प्रश्न उनका आलोचक र समर्थक दुबैले सोधिरहेका छन् ।
यो वर्षको चैत महिनाको मौसम अनुमान गर्न मौसमविद्हरुलाई जति कठिन भयो होला प्रचण्डको राजनीतिक छलाङको अनुमान गर्न पनि राजनीतिक विश्लेषकहरुलाई त्यस्तै कठिन छ । चैत महिनामा पनि लुगलुग कमाउँने जाडो होला भन्ने अनुमान सर्वसाधारणले मात्रै होइन मौसमविदहरुले पनि सायद गरेका थिएनन् । यसपटकको मौसम अनुमान बाहिरको विषय थियो । त्यस्तै केहीदिनअघि मात्रै ओलीसँग दोस्ती गरेका प्रचण्डले यत्ति छिट्टै देउवासँग दोस्ती बढाउलान् भन्ने अनुमान कसैलाई थिएन । तर, दोस्ती शुरु नै भइसकेको छ । हुन त टिआरसी विधेयक र संसदको अबरोध अन्त्यका लागि देउवासँग भेटेको कुरा प्रचण्ड नजिककाले बताइरहेका छन् । तर, यसलाई बहाना भन्दा बाहेक केही भन्न नसकिने कतिपयको भनाई छ ।
यो गठबन्धन बन्नुभन्दा केहीदिन अघि पनि प्रचण्डले सिंहदरबारमा ओलीसँग टिआरसी विधेयककै बहानामा यसैगरी भेट्ने गरेका थिए । तर, केहीदिनको भेटमा नै धेरैलाई चकित पार्नेगरी प्रचण्डले राजनीतिक उथलपुथल ल्याइदिए । फेरि उथलपुथल ल्याउछु भनेका प्रचण्डले अब चाहिँ कस्तो प्रकारको उथलपुथल ल्याउने हुन् त्यो यसै भन्न सकिन्नँ ।