Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

नाउपाको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले गरे रेशम र रञ्जितासँग छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित रहेको थियो।

रेशम र रन्जिताबीच मतैक्यता नहुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ । प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि संरक्षक चौधरी छलफलका लागि गएको चौधरी निकट स्रोतले जनाएको छ । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

तर चौधरीले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने प्रधानमन्त्रीलाई बताएको उनले जानकारी दिए । सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् ।

यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार