Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

रेशम– रन्जिताको घरझगडामा प्रधानमन्त्री, सक्लान् त मिलाउँन ?


रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीको घरझगडा मिलाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन् । प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीका श्रीमान श्रीमतिलाई नै प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर मिल्न सुझाव दिएका हुन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीलाई सँगै राखेर सम्झाउन चाहेपनि उनीहरु सँगै भेट हुनेगरी प्रधानमन्त्री निवास जान नमानेपछि प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीलाई अलग अलग बालुवाटारमा बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीलाई सँगै राखेर खाना खुवाउन चाहेका थिए । तर, रेशम चौधरी र रन्जिता श्रेष्ठले सँगै भेट्न नमानेपछि रेशम चौधरीका श्रीमान श्रीमतिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेट गरेका हुन् ।
आइतबार मात्रै नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा पति रेशम चौधरी र पत्नी रन्जिता श्रेष्ठ चौधरी पक्षधरबीच कुटाकुट भएको थियो । पति पत्नी मिलेर खोलेको पार्टीमा पति पत्नीकै झगडाले कार्यकर्ताहरु कुटाकुटमा उत्रिएपछि भने यसले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको थियो । आइतबार दिउँसोबाट राजनीतिक वृत्तको ध्यान रेशम चौधरीका श्रीमान श्रीमतिको झगडा र पार्टी पंक्तिमा भएको कुटाकुटले तानेको थियो । रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीको झगडा अनि कार्यकर्ताहरुको कुटाकुटको विषयले राजनीतिक वृत्तको ध्यान तानिरहेका बेला बालुवाटारको ध्यान नतान्ने कुरै भएन । अझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि त नागरिक उन्मुक्ति पार्टी सुखदुःखको सहयात्री दल हो । पटक पटक आफूले संसदमा विश्वासको मत लिइरहनुपर्ने र उक्त पार्टीले संसदको मत दिइरहने भएपछि प्रधानमन्त्री प्रचण्डले उक्त पार्टीभित्रको घरझगडाका विषयमा स्वभाविक रुपमा चासो राख्ने नै भए । त्यहीभएर प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीको घरझगडामा चासो राख्दै रेशम चौधरी र चौधरीकी श्रीमति समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई बालुवाटारमा बोलाए । तर, प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीको घरझगडा अहिले मिलाइदिनेगरी अग्रसर भएको देखिएपनि झगडा पारिदिने भने प्रचण्ड नै रहेको केहीको विश्लेषण छ ।

अघिल्लो गठबन्धनमा रन्जिता श्रेष्ठ चौधरी प्रधानमन्त्री प्रचण्डको क्याबिनेटमा मन्त्री थिइन् भने यसपटक पनि रन्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी छिन् । तर, रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नहुने पक्षमा थिए । रेशम चौधरीको व्यापक असहमतिका बीचमा पनि रन्जिता श्रेष्ठ चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अघि सर्नुको कारण रन्जितालाई प्रधानमन्त्री प्रचण्डले देखाएको मन्त्रीको कुर्सी हो भन्ने केहीको बुझाई छ । प्रधानमन्त्री प्रचण्डले रन्जितालाई फेरि मन्त्री बनाइदिने आशा देखाएपछि उनले प्रचण्डलाई विश्वासको मत दिएको ठम्याई केहीले गरेपनि प्रचण्डले उनलाई मन्त्री भने बनाएका छैनन् । अहिले तत्कालै भन्दा पनि केही समयपछि मात्रै मन्त्री बन्दा उपयुक्त हुने सल्लाह स्वयं प्रचण्डले नै रन्जितालाई दिइरहेको हल्ला राजनीतिक वृत्तमा छ । अहिले नै मन्त्री बन्दा पदकै लागि रेशम चौधरीसँग झगडा गरेको भन्ने सन्देश जान सक्ने भन्दै प्रचण्डले रन्जितालाई रोकेको बुझिएको छ ।
प्रचण्डले बाहिर बाहिर मिल्न सल्लाह दिएजस्तो गर्ने र भित्रभित्रै चाहिँ एक पक्षलाई उचाल्ने गरेको आरोप केहीले लगाइरहेका छन् । त्यसो त रेशम चौधरीले बालुवाटारले आफ्नो पार्टी भताभुंग बनाइदिन लागेको आरोप यसअघि सार्वजनिक रुपमा नै लगाइसकेका छन् । पार्टी आफ्नो भएपनि चलाइदिने काम भने बालुवाटारले गरेपछि समस्या उत्पन्न भएको उनको ठम्याई छ । प्रचण्डकै उक्साहटमा रन्जिता अघि बढेको घुमाउरो आरोप रेशम चौधरीले लगाइरहेका छन् । आइतबार त चौधरी पत्रकारहरुका माझ आँशु नै खसालेर रोएका थिए । आफ्नो घरझगडा बालुवाटारले बनाइदिएको भन्ने घुमाउरो आरोप लगाउँदै उनले आफूले तीन महिनादेखि राम्रोसँग खाना समेत नखाएको गुनासो उनले गरेका थिए । तीन महिनादेखि कहिले एक चम्चा त कहिले दुई चम्चा मात्रै खाना खाएको रेशम चौधरीले पत्रकारहरुलाई बताएका थिए ।
राजनीतिमा आउनुपूर्व मात्रै होइन रेशम चौधरी जेलबाट छुट्नुपूर्व र रन्जिता श्रेष्ठ चौधरी मन्त्री पदमा रहँदाका बखत सम्म पनि चौधरी परिवारको सम्बन्ध असाध्यै राम्रो थियो । रेशम र रन्जिता पति पत्नीका रुपमा मात्रै होइन एउटै पार्टीका नेताका रुपमा पनि अत्यन्तै सुमधुर सम्बन्धमा थिए । तर, जब रन्जिताको मन्त्री पद खुस्कियो त्यसपछि फेरि सरकारमा जाने या नजाने अनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा उनीहरुबीच सामान्य ठाकठुक हुँदै झगडा यस्तो तहमा पुग्यो कि कार्यकर्ताहरु रेशम र रन्जिता पक्षमा विभक्त हुँदै कुटाकुटमा उत्रिए । कुटाकुटको तहमा पुगेको यो सम्बन्ध अब फेरि पुरानै अवस्थामा फर्किएला या थप चुलिएला त्यो अहिल्यै यसै भन्न सकिन्नँ । तर, प्रधानमन्त्री प्रचण्डले लिएको अग्रसरताभित्र साँच्चै सफा नियत छ भने त्यसले सकारात्मक नतिजा निकाल्नेमा भने आशावादी रहने ठाउँ देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार