सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि अर्को एउटा सहकारी प्रकरणमा तानिएको समाचार आएपछि रास्वपाको बदनाम गर्न खोजिएको भन्दै रास्वपा समर्थकहरुले आपत्ति व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा रास्वपाका समर्थकहरुले पुराना दल र रास्वपा विरोधीहरुले गृहमन्त्री रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलबारे गलत भ्रम फैलाएको भन्दै आपत्ति व्यक्त गरेका हुन् ।
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल ‘साई स्वागत बचत तथा ऋण सहकारी’ संस्थाको उपाध्यक्ष रहेका बेला संस्थाबाट बिनाधितो ५० लाखको कारोबार गरेको भन्ने सामाचार बुधबार दिउँसो बाहिरिएको थियो । सहकारीको रकम अपचलनमा देशैभरि प्रश्न उठिरहेका बेला काठमाडौं महानगरले गरेको अनुगमन तथा अनुसन्धानका क्रममा गृहमन्त्रीकी पत्नी पौडेलले उक्त सहकारीबाट बिनाधितो ५० लाख रुपैयाँको कारोबार गरेको तथ्य भेटिएको महानगर टोलीको दाबी रहेको भन्दै समाचार आएपछि रास्वपा समर्थकहरु सञ्चार माध्यममाथि नै रुष्ट बनेका छन् । निकिता पौडेल २०७५ मा साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष रहेकी थिइन् । पौडेल उपाध्यक्ष रहेका बेला ५० लाख रुपैयाँ बिनाधितो लिएको तथ्य भेटिएको भन्दै महानगरको टोलीलाई उदृत गर्दै केही सञ्चार माध्यमहरुले समाचार सार्वजनिक गरेका थिए । ।
काठमाडौं महानगरका अनुसार पीडित बचतकर्ताहरुले दिएको उजुरीका आधारमा महानगरले उक्त सहकारीमा अनुगमन गरेको हो । पीडित बचत कर्ताहरुले सञ्चालकहरूले सर्वसाधारणबाट संकलन गरेको रकम कोठे बैठक बसेर परिचालन गरेको र आफूहरुले बचत गरेको पैसा फिर्ता नदिएको, साधारणसभाले गर्नुपर्ने काम आफूखुसी गरेको, महाराजगन्जमा रहेको कार्यालय अचानक अनामनगर सारेकोलगायत विविध विषयमा उजुरी गरेका छन् । उक्त उजुरीका आधारमा अनुगमनमा खटिएको महानगरको टोलीले बुधबार ‘साई स्वागत बचत तथा ऋण सहकारी’ बाट दस्ताबेज संकलन गर्दै पदाधिकारीको बयान पनि लिएको छ ।
उक्त सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ ।
काठमाडौं महानगर क्षेत्रका सहकारीमा बेथिति बढेको र सर्वसाधारणको बचत संकटमा परेको भन्दै उजुरी परेपछि महानगरले सीएसहितको टोली बनाएर अनुगमन सुरु गरेको छ । यसक्रममा धेरै उजुरी आएको मध्ये ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ मा अनुगमन गरिएको काठमाडौं महानगर स्रोतले जनाएको छ । अन्य सहकारीमा पनि अनुगमनका लागि प्रतिवेन तयार गर्ने काम भइरहेको र प्रतिवेदन तयार हुनासाथ अनुगमनका कामलाई अगाडी बढाउने महानगरले जनाएको छ । ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ मा अनुगमनका लागि महानगरको सहकारी विभागबाट प्रमुखसहित चार जना, नगर प्रहरीका तीन जना र तीन जना सीएसहितको टोली अनुगमनमा गएको थियो ।
अनुगमन टोलीका अनुसार भरतमणि जंगम अध्यक्ष रहेका बेला ०७५ देखि ०७९ सम्म निकिता सहकारीमा उपाध्यक्ष थिइन् । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनिएका भरतमणि जंगम र रवि लामिछानेबीच न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदाताका बनेको सम्बन्धका आधारमा सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान जंगमले महानगरलाई दिएको अधिकारीहरूको भनाई छ । तर, निकिताका नाममा भएको उक्त कारोबार फछ्र्योट भइसकेको जानकारी समेत भरतमणि जंगमले महानगरको टोलीलाई गराएका छन् ।
यता बचतकर्ताहरुले भने उपाध्यक्ष निकिता पौडेलले धितो नै नराखी ५० लाख रुपैंयाँ लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन् । भरतमणि र निकिता अहिले सहकारीको पदाधिकारी छैनन् । तर, कारोबार बिग्रिएकाले एक सर्वसाधारण महिला निमकुमारी छन्तेललाई अध्यक्ष बनाएर उनीहरुको बाहिरिएको महानगर स्रोतको भनाई छ । जबकि संस्थाले सात करोड रुपैयाँ बचत तिर्न बाँकी देखिन्छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त सहकारीको दर्ता, सञ्चालक समिति, कारोबारलगायत विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । ‘त्यस महानगरपालिकाअन्तर्गत साई स्वागत बचत तथा ऋण सहकारी संस्था दर्ता भए नभएको, दर्ता भएको भए सोको पदाधिकारीहरूको विवरण खुलाई उक्त सहकारीविरुद्ध त्यहाँ कुनै उजुरी परे–नपरेको सम्बन्धमा खुलाई उजुरी परेको भए सोको एक प्रति अनुसन्धान प्रयोजनका लागि यस विभागमा पठाइदिनु भई सहयोग गरिदिनुहुन अनुरोध छ,’ विभागले महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ । तर यो संस्थाका बारेमा त्यसअघि र पछि पनि महानगरमा उजुरी परेको अधिकारीहरुले बताएका छन् ।