
इलाम २ को निर्वाचनमा माओवादी केन्द्रले एमालेलाई सघाउन आन्तरिक रुपमा सर्कुलर जारी गरेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङका पक्षमा मतादन गर्नका लागि माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेको बुझिएको हो । केहीदिनअघि सम्म आफ्ना तर्फबाट इलाम २ मा उम्मेदवारी दिने दाबी माओवादी केन्द्रले गरिरहेको थियो ।
एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेदवारका रुपमा अघि सारेपछि उम्मेदवारी दिने या नदिने भन्ने विषयमा अन्यौलमा रहेको माओवादी केन्द्रले केहीदिनअघि उम्मेदवारी दिने निर्णय पदाधिकारी बैठकबाटै गराएको थियो । यद्यपि माओवादी केन्द्र अन्तिम समयमा पुगेपछि उम्मेदवारी दिने निर्णयबाट पछि हट्ने अनुमान गरिएको थियो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई माओवादील सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
एमाले अध्यक्ष ओलीको विश्वास बमोजिम नै माओवादी केन्द्रले आफ्ना तर्फबाट उम्मेदवारी नदिई एमालेका पक्षमा मतदान गर्न सर्कुलर जारी गरेको हो । एकीकृत समाजवादी पार्टीले पनि एमाले उम्मेदवारलाई नै सहयोग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वास लिएका छन् ।
गत वर्ष मंसिर ४ मा भएको निर्वाचनमा पनि माओवादी केन्द्रले आफ्ना तर्फबाट उम्मेदवारी दिएको थिएन । नेपाली कांग्रेसका उम्मेदवारलाई त्यतिबेला माओवादी केन्द्रले सघाएको थियो । अहिले फेरि आफ्ना तर्फबाट उम्मेदवारी नदिई एमालेका उम्मेदवारलाई सघाउने तयारीमा माओवादी केन्द्र रहेपछि माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । माओवादीको चुनाव चिन्ह नै इलाम २ का जनताले बिर्सने भन्दै उनीहरुले पार्टी नेतृत्वलाई पटक पटक गल्ती नगर्न सुझाव दिएका छन् ।
यता माओवादी केन्द्रले उम्मेदवारी नदिई एमालेकै उम्मेदवारलाई सघाउने भनेपछि कतिपयले भने यसलाई रास्वपाविरुद्ध सत्तारुढ दलहरुकै गठबन्धन भनी टिप्पणी गरेका छन् । सुहाङ नेम्वाङका पक्षमा सत्तारुढ दलहरु मध्येको एउटा खेमा उभिँदै गर्दा रास्वपा भने आफ्ना उम्मेदवार मिलन लिम्बुलाई जिताएरै छाड्ने उद्देश्यका साथ अहिले चुनावी प्रचार प्रसारमा खटिएको छ । नेपाली कांग्रेसले आफ्ना तर्फबाट डम्बर बहादुर खडकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने इलाम २ मा पहिचानवादीहरुले डकेन्द्र थेगिमलाई साझा उम्मेदवारका रुपमा अघि सारेका छन् । यो क्षेत्रमा सुहाङ नेम्वाङ, डम्बरबहादुर खड्का, मिलन लिम्बु र डकेन्द्र थेगिमका बीचमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
सत्तारुढ सबै दलहरुले छुट्टाछुट्टै रुपमा उम्मेदवार खडा गर्ने यसअघि अुनमान गरिएपनि माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी पार्टी एक ठाउँमा उभिने भएपछि यसबाट अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भने झस्किएको छ । सँगै सत्ता सहयात्रा गरिरहेका दलहरु नै अर्को सत्तारुढ दलका बिरुद्ध गठबन्धन बनाएर अघि बढ्नुले सत्ता गठबन्धनमा नै फाटो आउन सक्ने केहीको अनुमान छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना विरुद्धमा सत्ता सहयात्री दलहरु एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर अघि बढ्नुलाई ठूलो चुनौतीका रुपमा लिएको बुझिएको छ । कांग्रेस या अन्य उम्मेदवारलाई पराजित गर्न भन्दा पनि रास्वपाका उम्मेदवारलाई पराजित गर्ने उद्देश्यका साथ माओवादी पनि लागिपरेको बुझाई रास्वपाभित्र देखिन्छ । रास्वपाको यो बुझाई बलियो बन्दै गएको खण्डमा चुनाव लगत्तै सत्ता गठबन्धनमा समस्या आउन सक्ने केही विश्लेषकहरुको भनाई छ ।