Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

गृहमन्त्री लामिछाने र काठमाडौंका मेयर बालेनबीचको भेटमा के भयो कुराकानी ?


गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच विशेष भेटवार्ता भएको खुलासा भएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल कुनैबेला आबद्ध भएको भनिएको सहकारीमा छापा मारेकै दिन गृहमन्त्री र महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भनिएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो भने उता सहकारी विभागले छापा मारेको खबर सार्वजनिक भएको केहीबेरमा नै गृहमन्त्री रवि लामिछानेले मेयर बालेन शाहलाई भेटका लागि आफ्नो कार्यकक्षमा निम्तो दिएका थिए । गृहमन्त्रीको निम्तो पाएपछि मेयर बालेन शाह गृहमन्त्रालय पुगेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मेयर बालेन शाह र गृहमन्त्रीका तर्फबाट बिहिबार दिउँसोसम्म यो भेटका विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि भेटवार्ता भएको भन्ने कुरा गृहमन्त्रालय स्रोतबाट नै बाहिरिएपछि यसबारे मेयर बालेन शाहको सचिवालयसँग सम्पर्क गर्दा भेटवार्ता भएको र गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा कुराकानी भएको मेयर बालेन शाहको सचिवालय जानकारी दियो । तर, सचिवालयले बुधबार गृहमन्त्री पत्नी निकिता पौडेल यसअघि आबद्ध भएको भनिएको सहकारीमा छापा मारिएको विषयमा भने कुनै कुराकानी नभएको दाबी गरेको छ । बुधबार गृहमन्त्री र काठमाडौं महानगरपालिकाका मेयरबीच भेटवार्ता हुनु र सोही दिन नै सहकारीमा छापा मारिएको विषय बाहिरिनुलाई मेयर बालेन शाहको सचिवालय संयोग मात्रै भएको बताएको छ । सचिवालयका एक सदस्यका अनुसार बुधबार दिउँसो सहकारीमा छापा मारियो भन्ने जानकारी समेत मेयर बालेन शाहलाई थिएन । महानगरपालिकाको सहकारी विभागले नियमित कामकै सिलसिलामा सहकारीमा छापा मारेको सचिवालयका ती सदस्यको भनाई छ । महानगरपालिकाको सहकारी विभागले सहकारीमा छापा मार्नु अनि गृहमन्त्री र मेयर बालेन शाहका बीचमा भेटवार्ता हुनु संयोग मात्रै भएको बताउँदै मेयरको सचिवालयका ती सदस्यले भने, यो बिल्कुलै संयोग मात्रै हो । मेयर साप्लाई सहकारी विभागले गृहमन्त्रीकी पत्नी निकिता पौडेल यसअघि उपाध्यक्ष रहेको भनिएको सहकारीमा छापा मारिएको भन्ने कुराको जानकारी समेत थिएन । उहाँलाई गृहमन्त्रीले भेटवार्ता नभएको धेरै दिन पनि भयो भेटघाट गरौं र समसामयिक विषयमा छलफल गरौं भनेपछि मेयर साप् गृहमन्त्रीको कार्यकक्षमा जानुभएको हो ।

गृहमन्त्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच काठमाडौं महानगरको शान्ति सुरक्षाका विषयमा कुराकानी भएको मेयर शाहको सचिवालयका ती सदस्यले जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरभित्रका सहरहरु चौबीसै घण्टा खुला राख्नेगरी कार्ययोजना बनाउने र गृहमन्त्रालयले शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने विषयमा कुराकानी भएको छ । ठमेल लगाएतका क्षेत्रको शान्ति सुरक्षाका विषयमा विशेष ध्यान दिनका लागि मेयर बालेन शाहले गृहमन्त्री लामिछानेसँग आग्रह गरेका छन् । गृहमन्त्रालयबाट शान्ति सुरक्षाको थप प्रत्याभूति भएको खण्डमा महानगरमा अझै धेरै काम गर्न सकिने अवस्था रहेको गृहमन्त्री लामिछानेलाई मेयर बालेन शाहले बताएका छन् । करिब १ घण्टा भएको भेटवार्ताका क्रममा गृहमन्त्रीले मेयर बालेन शाहलाई मिलेर काम गर्ने प्रस्ताव गरेका थिए ।

पछिल्ला केही महिनायता महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबीचको सम्बन्धमा तित्तता रहेको खबर सार्वजनिक भइरहेका बेला बुधबार भएको भनिएको भेटवार्तालाई राजनीतिक वृत्तमा समेत अर्थपूर्ण रुपमा हेरिएको छ । वैकल्पिक राजनीतिक दल र समुहका रुपमा उदाएका व्यक्तिहरु मिलेर अघि बढ्न जनदबाब आइरहेको छ भने रास्वपा सभापति रवि लामिछानेले स्थानीय तहमा लोकप्रिय रहेका जनप्रतिनिधिहरुसँगको सम्बन्ध सुमधुर बनाएर अघि बढ्ने रणनीति लिएका छन् । सोही रणनीति अनुसार केहीदिनअघि मात्रै रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग पनि भेटवार्ता गरेका थिए । गृहमन्त्री लामिछानेसँग भेट्नुअघि सम्म रास्वपाप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका धरानका मेयर हर्क साम्पाङ त्यसयता भने तुलनात्मक रुपमा नरम देखिएका छन् । काठमाडौंका मेयर बालेन शाहलाई भने गृहमन्त्रीसँगको यो भेटले कुनै प्रभाव पार्छ या पार्दैन त्यो भने अहिल्यै यसै भन्न सकिन्नँ । गृहमन्त्रीसँगको भेटपछि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमा समेत केही उल्लेख नगरेका कारण उनीहरुबीच भेटवार्तापछि कस्तो सम्बन्ध विकसित होला भन्ने विषयमा अनुमान लगाउँन कठिन छ ।


प्रतिक्रिया दिनुहोस !
विचार