नेकपा एमालेका नेता एवं पूर्व मन्त्री महेश बस्नेत विरुद्ध जबरजस्ती करणी तथा भ्रुण हत्याको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । नेकपा एमालेकै एक महिलाले उनीविरुद्ध यस्तो जाहेरी दर्ता गरेकी हुन् । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार नेकपा एमालेमा क्रियासिल रहेकी ३१ वर्षीय महिलाले बलात्कार तथा भ्रुण हत्यासँगै , डाँका र चोरी मुद्दामा समेत बस्नेतलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गरेकी छिन् । यसअघि ती महिलाले विभिन्न सञ्चार माध्यम मार्फत आफू बस्नेतबाट बारम्बार ठूलो पीडामा परेको बताएकी थिइन् भने बस्नेत सहित नेकपा एमालेका केहीले बस्नेतको चरित्र हत्या गर्ने अभिप्रायले यस्तो अफबाह फैलाइएको दाबी गरेका थिए । पीडित महिलाले बारम्बार उजुरी दर्ताको प्रयास गरेको भनिएपनि त्यो सफल हुन नसकेको समाचार समेत यसअघि बाहिरिएको थियो । अहिले भने ती महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।
जाहेरी दर्ता गर्ने महिलाले प्रहरीसँगको बयानमा आफूलाई बस्नेतले दुई पटक सम्म बलात्कार गरेको दाबी गरेकी छिन् । उनले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको भनिएको छ ।
बलात्कारबाट बसेको गर्भ तुहाउन समेत महेश बस्नते सक्रिय भएको भन्दै ती महिलाले बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्याको आरोप समेत लगाएकी छिन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक आफूलाई बाध्य पारी भ्रुण हत्या गरेको ती महिलाले आरोप लगाएकी छिन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ । मुलुकी अपराध संहित २०७४ मा कोही कसैले भ्रुण हत्या गरेमा हुने कारबाहीका बारेमा उल्लेख छ ।
बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि ती महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन्, ती महिलाले उल्लेख गरेको जाहेरीमा भनिएको छ ।
गत चैत्र ७ गते ती महिलाले दिएको जाहेरीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योगमन्त्री रहेका बस्नेत नेकपा एमालेका प्रभावशाली नेता मानिन्छन् । एमाले अध्यक्ष केपी शर्मा अोलीका प्रिय पात्रका रुपमा चिनिने बस्नेतमाथि आफ्नै पार्टीकी महिलाले जाहरी दिएको विषयले यतिबेला एमाले वृत्तमा सनसनी मच्चिएको छ । एमालेका केही नेता कार्यकर्ता महेश बस्नेतका बारेमा आएको यो विषयमा बोल्न नहुने पक्षमा छन् भने केहीले अनुसन्धान हुनुपर्ने बताएका छन् । यद्यपि पार्टीका जिम्मेवार नेतामाथि लागेको आरोप र दर्ता भएको भनिएको जाहेरीले एमालेलाई चिन्तित तुल्याएको छ ।
्