Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

बुधबारदेखि उपनिर्वाचनको आचारसंहिता लागु हुने, क–कसलाई लाग्छ आचारसंहिता ?


बुधबारदेखि उपनिर्वाचनको आचारसंहिता लागु गर्ने निर्णय भएको छ ।

निर्वाचन आयोगले इलाम र बझाङमा वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागु गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो ।

यस्तै आयोगले आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्ति मार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कार्वाही गर्ने निर्णय गरेको छ । यस्तै वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयमा लेखी पठाउनेलगायतका ६ निर्णय आयोगले गरेको छ ।

बुधबारदेखि उपनिर्वाचनका लागि लागु हुने आचारसंहितामा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्‍घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्‍गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्‍चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्‍चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्‍चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्‍क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार र वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारहरुमा लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि यस अघि निर्वाचन आयोगमा उम्मेदवारको उम्मेद्धवारी दर्ता भइसकेकोे छ ।


प्रतिक्रिया दिनुहोस !
विचार