Logo
२०८१, १८ बैशाख मंगलवार
|  Tue Apr 30 2024

संसदको गतिरोध हट्ला त आज ?


सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने माग नेपाली कांग्रेसले संसदमा दिनहुँजसो गरिरहेको छ । मंगलबार त आफ्नो माग सुनुवाई नभएको भन्दै कांग्रेसले संसद नै अबरुद्ध गरेको थियो । कांग्रेसले गरेको संसद अबरोधका बीच रास्वपा सहित सत्ता पक्षकै सांसदहरुले उठेर टेबुल ठोक्न थालेपछि संसद थप अशान्त बनेको थियो ।

संसद सुचारु गर्ने सभामुख देवराज घिमिरेको प्रयास पटक पटक असफल भएको थियो । आफ्नो प्रयास असफल भएपछि सभामुख घिमिरेले बुधबार बिहान ११ बजे सम्मका लागि संसद बैठक स्थगित गरेका थिए । तर, बुधबार पनि संसदको गतिरोध अन्त्य हुने संकेत देखिएको छैन । गृहमन्त्रीका विषयमा प्रमुख प्रतिपक्षि दलले मात्रै संसदमा आवाज उठाउँदै आएकोमा अर्को प्रतिपक्षी दल राप्रपा पनि आजबाट गृहमन्त्रीका विरुद्धमा संसदमा उभिने भएको छ ।

मंगलबार राप्रपाले गरेको जनप्रदर्शनका क्रममा प्रहरीले व्यापक दमन गरेको भन्दै राप्रपाले सडक र सदन दुवैबाट गृहमन्त्रीको राजीनामा माग्ने घोषणा गरेको छ । यसअघि गृहमन्त्री मुछिएको भनिएको सहकारी प्रकरणका विषयमा मौन बसेको राप्रपाले सडकबाटै यो विषयमा चर्को आवाज निकालेको छ भने गृहमन्त्रीमाथि छानबीन किन गर्न नपर्ने भनेर सदनमा पनि यो आवाज उठाउँने उसको तयारी छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग मंगलबारको जनप्रदर्शनकै क्रममा गरेका छन् भने प्रमुख सचेतक ज्ञानबहादुर शाही पनि गृहमन्त्री लामिछानेमाथि आक्रामक रुपमा खनिएका छन् । यता सत्ता पक्षले भने संसदीय छानबीन समिति नबनाउने अडान लिइरहेको छ । संसदीय छानबीन समितिको विषयमा भइरहेका दुई पक्षीय अडानका कारण संसदको गतिरोध अझै केही समय जारी रहने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार