
गृहमन्त्री रवि लामिछानेका पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झनै दह्रो रुपमा उभिएका छन् । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबीन समिति बनाउनैपर्ने अडानमा कांग्रेस रहिरहेका बेला प्रधानमन्त्री दाहालले त्यस्तो समिति नबनाउने कुरा दोहो¥याएका हुन् ।
बुधबार बिहान बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधामन्त्री दाहालले कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए ।
उनले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति अहिले बनाउनुपर्ने आवश्यकता नै नभएको जिकिर गरे । प्रधानमन्त्री दाहालले भने, ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन, समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’
नेपाली कांग्रेस सहकारीमा जनता मारमा परेका छन् भन्ने कुराले भन्दा पनि रवि लामिछाने सत्तागठबन्धनमा गए भन्ने कुराले चाहिँ पिरोलिएको भन्दै प्रधानमन्त्री दाहालले यसको समाधान राजनीतिक समझदारीबाटै खोजिने बताए । तर, त्यस्तो राजनीतिक समझदारी भनेको के हो भन्ने कुरा भने प्रधानमन्त्री दाहालले खुलाएनन् । उनले भने, ‘रवि लामिछानेको केस अलगै र सहकारीको समस्या अलगै गरेर छलफल ग¥यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ । ’
अहिले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको विषयमा कुनै प्रमाण नभेटिएको भन्दै प्रधानमन्त्री दाहालले प्रमाण भेटिएका दिन भने उनीमाथि छानबिन गर्ने जिकिर गरे । यदि रविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुन्छ , प्रधानन्त्री दाहालले भने, ‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन,भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन ।’
अनुसन्धान गर्ने निकाय सीआईबीले नै रविविरुद्ध प्रमाण नभएको भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रधानमन्त्री दाहालको भनाई छ । आफूले प्रहरी प्रमुख, सीआईबी र सम्बन्धित जिल्लाका अधिकारीसँग यो केसको विषयमा बुझेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘त्यो केसमा रविजीलाई अनुसन्धान गर्ने कुनै ठाउँ छैन, त्यसकारण यो कुरा बिल्कुल राजनीतिक पूर्वाग्रह हो भन्ने देखिएपछि मैले अनुसन्धानकर्ताहरुकै सुझाव अनुसार बोल्या हो पार्लियामेन्टमा ।’
छानबिन गर्ने संस्थाले नै सहकारी प्रकरणमा रवि लामिछानेको कुनै संलग्नता छैन भनेपछि छानबिन गरिरहनुपर्ने आवश्यकता नभएको दाबी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सीआईबीले हो छानबिन गर्ने, सीआईबीले भन्छ, केही प्रमाण छैन, त्यत्तिकै राजनीतिक आग्रहले गरिएको प्रचार हो भनेर छानबिन गर्ने संस्थाले नै भनेपछि अब फेरि अर्को के छानबिन गर्ने ?’
आफूले संसदको बोलेको कुरामा कांग्रेसले सहमति नजनाउनुको कुरा अर्कै रहेको भन्दै प्रधानमन्त्री दाहालले गठबन्धन भत्काउँने ध्याउन्नमा कांग्रेस रहेका कारण कुरा नमिलेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘रवि लामिछानेको केस अहिले समीकरण बदलिएपछिको केस होइन । जतिबेला नेपाली कांग्रेससँगै थियो गठबन्धन त्यतिबेलै उठेको कुरा हो । त्यतिबेला यो विषय छानबिन हुनुपर्छ भनेको त कसैले पनि होइन । किनभने सीआईबीले छानबिनको आधार छैन भनेपछि सबैले स्वीकारेको कुरा हो, कांग्रेसले पनि,’
आफूले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग नयाँ समीकरण बनाएपछि कांग्रेसले यो विषयलाई बढी उछालेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन तोड्ने कोसिस भइरहेको बताउँदै भने, ‘अहिले समीकरण बदलिएपछि पहिलो कोसिस भयो रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने । उहाँ प्रधानमन्त्री बनेर समीकरणमा उता जान तयार नभएपछि छानबिन समितिको कुरा आयो, भित्री कुरा यही हो । ’
नेपाली कांग्रेसले जति नै कोशीस गरेपनि अहिलेको गठबन्धन भने नतोडिने दाबी गरे । उनले भने, ‘ यो गठबन्धनको जग त्यति कमजोर छैन जति कांग्रेसले सोचिरहेको छ । ’